अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अब पुनर्निर्माणमा लाग्न सक्ने बताएका छन्।
बुधबार बिहान युद्धविरामपश्चात ट्रुथ सोसियल अकाउन्टमार्फत ट्रम्पले आजको दिनलाई विश्व शान्तिका लागि महत्त्वपूर्ण दिनका रूपमा वर्णन गर्दै अब इरान पुननिर्माणमा जुट्न सक्ने बताएका हुन्।
इरानको पुनर्निर्माणका लागि अमेरिकाले पनि सहायता गर्ने ट्रम्पले बताएका छन्।
'इरानले अब पुननिर्माणको काम थाल्न सक्छ। आवश्यक सामग्रीको आपूर्ति अमेरिकाले पनि गर्नेछ। सबै कामहरूको निगरानी पनि राख्नेछ,' उनले भनेका छन्।
ट्रम्पले सबैकुरा आफूले भनेजस्तै गरी अघि बढ्नेमा पनि विश्वास व्यक्त गरे।
उनले स्ट्रेट अफ हर्मुजमा ट्राफिक व्यवस्थापनमा अमेरिकाले सहायता गर्ने पनि बताएका छन्।
'अब सकारात्मक कदमहरू चालिनेछन्। धेरै पैसा सिर्जना हुनेछन्,' उनले भनेका छन्, ' मध्यपूर्वमा यो सुनौलो युग हुनेछ।'
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफको मुख्य मध्यस्थतामा बुधबार बिहान युद्धविराम घोषणा भएको थियो।
ट्रम्पले इरानको सभ्यता नै ध्वस्त पारिदिने भनेर दिएको अल्टिमेटम सकिन केही मिनेट बाँकी हुँदा प्रधानमन्त्री शरिफले युद्धविराममा सहमति जुटेको घोषणा गरेका थिए।
युद्धविराम घोषणापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर १५ प्रतिशतभन्दा बढी बिन्दुले घटेर ९४ डलर प्रतिब्यारोल पुगेको छ।
अमेरिका र विश्वका विभिन्न मुलुकहरुमा शेयर बजार पनि बढेको छ। विभिन्न देशहरूले युद्धविरामको स्वागत पनि गरेका छन्।
विश्लेषकहरूले युद्धविराम भए पनि हर्मुज खुला हुन समय लाग्ने बताएका छन्।