जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते ललितपुरको भैंसेपाटीस्थित मन्त्रीहरूको सरकारी निवासमा पनि आगजनी भएको थियो।
त्यति बेला २७ भवनमध्ये २६ वटामा क्षति पुगेपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका धेरै मन्त्री आ-आफ्नै घरमा बसेका थिए। एक जना मन्त्री बब्लु गुप्ता मात्र भैंसेपाटी क्वार्टरमा सरेका थिए। शिक्षामन्त्री महावीर पुन त सिंहदरबारस्थित मन्त्रालय भवनमै बसेका थिए।
भैंसेपाटीको क्षतिग्रस्त मन्त्री क्वार्टर भवनहरूको पुनर्निर्माण भर्खरै सुरू भएकाले अहिलेका मन्त्रीहरू को कहाँ बस्छन् त?
प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारका १५ जनामध्ये अहिले एक जना मन्त्री मात्र भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा सरेका छन् भने पाँच जना मन्त्री हरिहर भवनस्थित पुरानो मन्त्री क्वार्टरमा बस्न थालेका छन्।
भैंसेपाटीका नवनिर्मित मन्त्री क्वार्टरमध्ये एउटा भवन मात्र सग्लो रहेकाले सहरी विकास मन्त्री सुनिल लम्साल त्यहीँ बस्न थालेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय प्रमुख एवं सुपरिन्टेन्डेन्ट इन्जिनियर चक्रवर्ती कंठले जानकारी दिए।
यसअघि अन्तरिम सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता भैंसेपाटीको उक्त क्वार्टरमा बसेका थिए। त्यही भवनमा लम्साल सरेका हुन्।
हरिहर भवनको पुरानो मन्त्री क्वार्टरमा बस्नेहरूमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरूङ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, शिक्षा मन्त्री सस्मित पोखरेल र स्वास्थ्य मन्त्री निशा मेहता छन्।
यसअघि मन्त्रीहरू हरिहर भवनबाट भैंसेपाटी सरेपछि त्यहाँ सर्वोच्च अदालतका न्यायाधीशहरू बस्न थालेका थिए। त्यहाँ १९ वटा भवन छन्। सबै न्यायाधीशहरू मन्त्री क्वार्टरमा नबसेकाले केही भवन खाली नै थिए। तिनै खाली रहेका भवनमा अहिलेका पाँच जना मन्त्री सरेका हुन्।
यी पाँच जनाबाहेक पूर्वश्रममन्त्री दीपक कुमार साहका लागि पनि क्वार्टर बुक गरिएको थियो। तर प्रधानमन्त्रीले बर्खास्त गरेपछि उनी सर्न पाएनन्। त्यही क्वार्टर अहिले पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल (गनेश) ले बुक गरेका छन्। उनी सरिसकेका भने छैनन्।
बाँकी मन्त्रीहरू अहिले आ-आफ्नै घरमा बसिरहेका छन्। उनीहरूलाई पनि सरकारी निवासमा सार्ने तयारी भइरहेको सुपरिन्टेन्डेन्ट इन्जिनियर कंठले बताए।
'अन्य मन्त्रीज्यूहरूका लागि पनि भाडाको घर खोज्ने कि भन्ने कुरा भइरहेको छ। बजेट मिलाउने प्रयास भइरहेको छ। टुंगो लाग्नेबित्तिकै हामी टेन्डर खोल्छौं,' उनले भने।
भैंसेपाटी मन्त्री क्वार्टरको पुनर्निर्माण सुरू
भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा आगजनीमा परेकामध्ये ११ वटा भवनको पुनर्निर्माण सुरू भएको छ।
सुपरिन्टेन्डेन्ट इन्जिनियर कंठले पहिलो चरणमा ११ वटाको पुनर्निर्माण सुरू गरिएको र बाँकीको पनि सुरू गर्ने प्रक्रियामा रहेको बताए।
भैंसेपाटीमा २७ वटा भवनमध्ये २१ वटा मन्त्रीका लागि तोकिएको छ भने ३ वटा सहायक वा राज्यमन्त्रीका लागि छुट्याइएको छ।
त्यस्तै, राष्ट्रसभा अध्यक्ष, उपाध्यक्ष र उपसभामुखका लागि तीन वटा भवन छुट्याइएको छ।
भदौ २४ गते भएको आन्दोलन क्रममा गृह, अर्थ, राष्ट्रियसभा अध्यक्षको घरमा धेरै क्षति पुगेको थियो। पहिलो चरणमा गृह, अर्थमन्त्री लगायत बस्ने ११ घरको पुनर्निर्माण दुई साता अघिदेखि सुरू भएको कंठले जानकारी दिए।
उक्त निर्माणको काम देव गणेश कन्स्ट्रक्सन कम्पनीले अघि बढाएको छ।
त्यस्तै, बाँकी भवनका लागि अघिल्लो साता टेन्डर खुलाइएको छ। मूल्यांकनको काम सकेर दोस्रो चरणमा पनि भवन निर्माण अघि बढाइने उनले बताए।
'सबै काम असार मसान्तभित्र सक्ने लक्ष्य लिइएको छ,' उनले भने।