व्यवस्थापनको आवश्यक तयारी र संवादबिनै सरकारले आफूहरूलाई विस्थापित गर्न खोजेको भन्दै रूपन्देहीका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू आन्दोलित भएका छन्।
सरकारले काठमाडौं सहित देशभर डोजर आतंक मच्चाएको भन्दै उनीहरूले बुटवलमा प्रदर्शन सुरू गरेका हुन्।
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रूपन्देहीले बिहीबारबाट बुटवल राजमार्ग चौराहबाट प्रदर्शन सुरू गरेका छन्। संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले सरकारले आफूहरूलाई विकल्पबिना हटाउन खोजेकाले आन्दोलन गर्न बाध्य भएको बताए।
बिहीबार बुटवलको राजमार्ग चौराहाबाट सुरू भएको प्रदर्शन मिलन चोक, अस्पताल लाइन हुँदै ट्राफिक चोकसम्म पुगेर कोणसभामा परिणत हुने छ।
रूपन्देहीमा लालपुर्जाका लागि ७९ हजार २६१ घरपरिवारले भूमि समस्या समाधान आयोगमा निवेदन दिएका छन्। तीमध्ये भूमिहीन दलित ३ हजार ७६, भूमिहीन सुकुम्बासी ६ हजार ७६१ र अव्यवस्थित बसोबासी ६९ हजार ४२६ परिवार छन्।
तीमध्ये सबभन्दा बढी बुटवल उपमहानगरपालिकामा १६ हजार ८७४ परिवार छन्। त्यस्तै, सैनामैना नगरपालिकामा १६ हजार १४२, देवदहमा १४ हजार ३०, कञ्चन गाउँपालिकामा १२ हजार ४०२, तिलोत्तमा नगरपालिकामा ८ हजार २९२ र गैंडहवा गाउँपालिकामा ४ हजार ५०६ परिवारले लालपूर्जा पाएका छैनन्।
त्यसैगरी शुद्धोधन गाउँपालिकामा १ हजार ७९५, सियारीमा १ हजार ४०६, मायादेवीमा ९३४, सिद्धार्थनगरमा ३०२, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ४३९, रोहिणीमा २७५, सम्मरीमाईमा ६६, कोटहीमाईमा ४९ र मर्चवारीमा ३७ परिवार छन्।






