राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबारको केन्द्रीय सचिवालय बैठकबाट भेला तथा अधिवेशनको विशेष कार्यतालिका सार्वजनिक गरेको छ।
पार्टीले आगामी वैशाख ३० गते केन्द्रीय समिति बैठक बोलाएको छ।
आइतबारको बैठकले वडा, पालिका र जिल्ला तहसम्मका भेला तथा अधिवेशनको तालिका स्वीकृत गरेको छ।
निर्णय अनुसार जेठ २ गते समिति गठन नभएका वडाहरूमा वडा भेला हुनेछ।
वैशाख २० अगावै समिति गठन भएका वडाहरूमा जेठ ३ गते वडा अधिवेशन गरिनेछ।
यस्तै, समिति गठन नभएका पालिकाहरूमा जेठ ९ गते पालिका भेला तथा वैशाख २५ अगावै समिति गठन भएका पालिकाहरूमा जेठ १० गते पालिका अधिवेशन गर्ने निर्णय गरिएको छ।
बैठकले जेठ ३ अगाडि गठन भएका बाँकी वडाहरूमा जेठ १६ गते वडा अधिवेशन र जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिकाहरूमा जेठ १७ गते पालिका अधिवेशन गर्ने कार्यतालिका पनि तय गरेको छ।
जिल्ला अधिवेशन भने जेठ २३ र २४ गते हुने जनाइएको छ।
त्यस्तै बैठकले विभिन्न तह र विभागबाट प्राप्त सिफारिसका आधारमा विभिन्न पदमा मनोनयन पनि गरेको छ। निर्णय अनुसार 'र्याट (RAT)' समन्वय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) र उपप्रमुखमा एपिएफका पूर्वडिआइजी बिदुर खड्का मनोनीत भएका छन्।
स्टार्टअप विभाग प्रमुखमा डा. प्रभात अधिकारी र सचिवमा हरि जोशी, शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे, कर्णाली प्रदेश सहमहामन्त्रीमा राजबहादुर शाह र अविसरा सुवेदी तथा केन्द्रीय संगठन विभाग सदस्यमा गोपाल प्याकुरेल मनोनीत भएका छन्।
कञ्चनपुर जिल्ला सभापतिको जिम्मेवारी पदम बिष्टलाई दिइएको छ।
बैठकले प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समिति विघटन गर्ने तथा जिल्ला अधिवेशनको तयारी गर्ने निर्णय पनि गरेको छ।
यस्तै, पार्टी हितविपरीत काम गरेको भन्दै विभिन्न जिल्लाका १५ जना सदस्यहरूको सदस्यता खारेज गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ।