नेपाली कांग्रेसका सभापति गगन थापा भोटेकोशी–त्रिशूली बाढी प्रभावितको अवस्था बुझ्न आइतबार रसुवा, नुवाकोट र धादिङका विभिन्न ठाउँमा पुगेका छन्।
उनी भोटेकोशी–त्रिशूली बाढीपीडितको अवस्था बुझ्न र स्थानीयसँग कुराकानी गर्न दोस्रो पटक त्यस क्षेत्रमा पुगेका हुन्।
यसअघि उनी राहत वितरणकै क्रममा उक्त क्षेत्रमा पुगेका थिए।
यसपटक भने पुनर्स्थापनाका विषयमा उनले स्थानीयसँग कुराकानी गरेका छन्।
सो क्रममा उनले बाढीपीडितका लागि दीर्घकालीन बसोबासको व्यवस्था गर्न सार्वजनिक जग्गाको खोजी गर्नुपर्ने र सार्वजनिक जग्गा नभएका क्षेत्रमा राज्यले निजी जग्गा खरिद गरेर भए पनि व्यवस्थापन मिलाउनुपर्ने बताए।
‘अब बन्ने सडक कहाँबाट कहाँसम्म बन्ने हो, पहिले त्यो टुंगो हुनुपर्ने देखिन्छ। बाटो बन्न समय लाग्ला, तर यहाँबाट बन्छ भन्ने टुंगो भइसकेपछि बस्ती कहाँ–कहाँ बस्ने भन्ने कुरा आउँछ। रसुवा, नुवाकोट र धादिङमा सार्वजनिक जग्गा कहाँ–कहाँ छ भन्ने तथ्यांक छन्, खोज्न मिलिहाल्छ, समय लाग्दैन,’ उनले भने, ‘सार्वजनिक जग्गा छैन भने निजी जग्गा किनेर दिनुको विकल्प छैन।’
बाढीपहिरो, भूकम्पलगायत विपद्का बेला सुरूमा सबैले चासो राखे पनि विस्तारै ती विषय ओझेलमा पर्दा प्रभावितहरू समस्यामा पर्ने गरेको उनले बताए। बाढी प्रभावित क्षेत्रको अवलोकन गरेपछि प्रतिवेदन तयार पारेर सरकारलाई उपलब्ध गराउने पनि उनले बताए।
विपद्पछि आफू रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा पुगेको उनको भनाइ थियो। तर, बाढी प्रभावितको पुनर्स्थापनामा संघीय सरकार उदासीन देखिएकाले आफू दोस्रो पटक प्रभावित क्षेत्रमा आएको उनले बताए।
‘म अहिले यहाँ आएको कारण खासगरी संघीय सरकारमा के धारणा रह्यो भने विपद्पछि जे गर्नुपर्ने हो, गरिसक्यौँ, तल कुनै पनि समस्या छैन र सामान्य हिसाबले भइहाल्छ भन्ने जसरी भान परेको हो वा भान पार्न खोजेको हो, थाहा छैन। यहाँका साथीहरूसँग कुरा गर्दा विषयवस्तु थाहा भइहाल्थ्यो, तैपनि आफैँ अवलोकन गरेर आउँछु भनेर आएको हुँ,’ उनले भने।
उनले धादिङस्थित फुर्केखोलानजिकै पुल हाल्ने तयारी भइरहेको पनि बताए।
‘यहाँ पक्की पुल वा बेलिब्रिज बनाउन सरकारले तत्काल काम सुरु गर्नुपर्छ। अहिले राख्न लागेको पुल चैतपछि सञ्चालन गर्न गाह्रो देखिन्छ,’ उनले भने। भदौ १० गते भोटेकोशी-त्रिशूली बाढी जाँदा ठूलो जनधनको क्षति भएको थियो।