नेपाली कांग्रेसले काभ्रेका अजित मिजारको परिवारलाई न्याय दिन माग गरेको छ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत एलिजा ढकाल संयोजक रहेको जातीय विभेदविरूद्ध सचेतना अभियान उपसमितिले काठमाडौंको महाराजगञ्ज मेडिकल क्याम्पसअगाडि न्यायका लागि प्लाकार्डसहित प्रदर्शन गरेका हुन्।
उक्त कार्यक्रममा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका उपप्रमुख मधु आचार्य र मोहना अन्सारीलगायत पनि सहभागी थिए।
१० वर्षअघि काभ्रेका अजित मिजारको मृत्यु भएको थियो। उनको शव अझै अन्त्येष्टि हुन सकेको छैन। लामो समयदेखि उनका परिवारले न्याय माग गरिरहेका छन्।
अन्तरजातीय विवाह गरेको पृष्ठभूमिमा काभ्रे पाँचखालका मिजारको शव फेला परेको थियो। उनका परिवारले न्यायको लडाइँ जारी राखेका छन्। मिजारको परिवारका सदस्यहरूलाई भेट्न केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रतिनिधिहरू उनको काभ्रे पाँचखालस्थित घरमा पनि पुगेका थिए।
जातीय विभेदविरूद्ध सचेतना अभियान उपसमितिकी संयोजक एलिजा ढकालले यस घटनामा निष्पक्ष, पारदर्शी र गहिरो छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताइन्।
‘परिवारका सदस्यहरूसँगको भेटमा हामीले न्याय मरेको छैन, हामी तपाईंहरूको साथमा छौं, न्यायमा सबैको समान अधिकार हुनुपर्छ भन्ने हाम्रो विश्वास छ भनेर ढाडस दिएका छौं,’ उनले भनिन्, ‘सामाजिक न्यायका लागि हामीले महाराजगञ्जमा प्रदर्शनसमेत गरेका छौं।’