राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले सीमा सम्बन्धी विषयलाई लिएर प्रधानमन्त्री बालेन शाहलाई खलनायक बनाउन खोजिएको भन्दै आपत्ति जनाएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले अहिले नै प्रधानमन्त्रीलाई खलनायक बनाएर नागरिकहरूलाई सशंकित बनाउने, भावनालाई उत्तेजित गरेर खोक्रो राष्ट्रवादको खेती गर्नेभन्दा धैर्य, संवाद र परिणामलाई पर्खिनु बुद्धिमानी हुने बताएकी हुन्।
‘प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा प्रश्नोत्तरका क्रममा सीमा समस्याबारे व्यक्त गर्नुभएको धारणालाई लिएर अहिले पक्ष–विपक्षमा व्यापक बहस भइरहेको छ। सीमा सम्बन्धी विषय हाम्रो लागि अत्यन्त संवेदनशील, भावनात्मक र दशकौँदेखि समाधान हुन नसकेको राष्ट्रिय मुद्दा हो,’ उनले भनेकी छन्, ‘यहाँ म आरोप–प्रत्यारोप गर्ने मनस्थितिमा छैन। तर मेरो चासो प्रधानमन्त्रीले व्यक्त गर्नुभएको विचारलाई जसरी खलनायकको रूपमा चित्रित गरिँदैछ, त्यसतर्फ छ।’
विगतमा अहिलेका विपक्षी दलहरूले सरकार सञ्चालन गर्दा पनि छिमेकी राष्ट्रसँग विभिन्न दृश्य र अदृश्य समझदारी तथा सम्झौताहरू गरेको उनले बताएकी छन्। कतिपय सन्धि–सम्झौताहरूले राष्ट्रिय हितमाथि प्रत्यक्ष प्रश्न उठाएको उनको भनाइ छ।
‘यसको अर्थ अरूले गरे, हामीले पनि गर्दा फरक पर्दैन भन्ने होइन। तर कम्तीमा विगतलाई सम्झिएर वर्तमानको मूल्याङ्कन गरिनुपर्छ। स्मरण रहोस्, अघिल्ला सरकारहरूको पालामा त वार्ता परको कुरा, उच्चस्तरीय राजनीतिक भ्रमण समेत हुन नसकेको अवस्था थियो। अहिले कम्तीमा संवाद गरौं, वार्ता गरौं र समस्याको समाधान खोजौं भन्ने वातावरण बनेको छ। त्यो किन गौण बनाइँदैछ?,’ उनले भनेकी छन्।
कतिपयलाई सभापतिको एउटा भ्रमण वा प्रधानमन्त्रीको एउटा अभिव्यक्तिले दशकौं पुरानो सीमा विवादको अन्तिम समाधान गरिनुपर्ने लागेको भन्दै कूटनीति त्यसरी नचल्ने बताएकी छन्।
‘प्रधानमन्त्रीको कुनै पनि भ्रमण एजेन्डाविहीन हुँदैन। त्यसको तयारीका लागि पर्दाअघि र पर्दापछि राजनीतिक, कूटनीतिक र प्राविधिक तहमा अनेकौं चरणका संवाद, छलफल र समझदारीहरू भइरहेका हुन्छन्। आज देखिएको औपचारिक भ्रमण त लामो प्रक्रियाको एउटा दृश्य भाग मात्र हो। यदि प्रधानमन्त्रीको एउटा अभिव्यक्तिले मात्र यति ठूलो तरंग सिर्जना गर्न सक्छ भने, आगामी दिनमा अझ जटिल, तिता, संवेदनशील र चुनौतीपूर्ण विषयहरू सतहमा आउन सक्छन्,’ उनको भनाइ छ, ‘दुवै देशका संसदहरू तातिन सक्छन्, सडकमा बहस चर्किन सक्छ, बौद्धिक वृत्त विभाजित हुन सक्छन्, सञ्चारमाध्यमहरूमा तीव्र विमर्श हुन सक्छ। दशकौँदेखि थाँती रहेको विषयलाई समाधानतर्फ लैजाने प्रयास कहिल्यै सहज हुँदैन। सत्यको सामना गर्दा असहजता पनि आउँछ, प्रतिरोध पनि आउँछ।’
प्रक्रिया सुरू भएकै क्षण प्रधानमन्त्रीलाई खलनायक घोषणा गर्ने, नागरिकहरूमा भय, शंका र अविश्वास फैलाउने, प्रत्येक कूटनीतिक प्रयासलाई राष्ट्रघातको चस्माबाट हेर्ने अनि समाधानको बाटोभन्दा अवरोधको राजनीति गर्ने प्रवृत्तिले कसलाई फाइदा पुग्छ भन्दै उनले प्रश्न पनि गरेकी छन्।
‘हाम्रो पार्टीको नेतृत्व, सभापति र प्रधानमन्त्रीबाट राष्ट्रहित विपरीत कुनै सम्झौता हुने छैन। राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र नेपाली जनताको हितभन्दा माथि कुनै सम्बन्ध, कुनै दबाब र कुनै स्वार्थ हुन सक्दैन। दशकौंसम्म सत्ता र सरकारमा बसेर समस्या समाधान गर्न नसकेकाहरूले कम्तीमा समाधानको प्रयास गरिरहेकाहरूलाई केही विश्वास गर्ने ठाउँ दिनुपर्दैन? सीमा जस्तो जटिल राष्ट्रिय मुद्दाको मूल्याङ्कन एउटा अभिव्यक्ति, एउटा भ्रमण वा एउटा बैठकबाट कसरी सम्भव हुन्छ? यस्तो भेट र संवाद त ५० औ पटक हुन सक्छ। अनि सधै मीठा कुरा हुन्छन भन्ने कुरा त काल्पनिक मात्रै हो,’ उनको भनाइ छ।
कूटनीति भनेको सबैले एकैपटक, एउटै तरिकाले बुझ्नुपर्ने विषय नभएको र कतिपय राष्ट्रिय मुद्दाहरू समाधानको चरणमा पुग्न समय, संयम र विश्वास तीनैवटाको आवश्यकता पर्ने उनको जोड छ।
‘कुनै पनि नेतृत्वलाइ न त अनावश्यक रूपमा नायक बनाउनु जरूरी छ न त खलनायक बनाएर ठहर्याउन। मूल प्रश्न त के हो भने कसले, किन र कुन उद्देश्यका साथ सम्बन्धित व्यक्तिलाई खलनायकको रूपमा प्रस्तुत गरिरहेको छ भन्ने कुरा बुझ्नु नै बढी महत्त्वपूर्ण हो,’ उनले भनिन्।