नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी रूपान्तरणका सात आधार प्रस्तुत गरेका छन्।
शनिबार फेसबुकमार्फत महासचिव पोखरेलले सात बुँदामा पार्टी रूपान्तरणका आधार प्रस्तुत गरेका हुन्।
पहिलो बुँदामा गम्भीर आत्मसमीक्षा र रूपान्तरणको दृढ संकल्प गर्नुपर्ने उल्लेख छ।
त्यस्तै कमिटी प्रणालीको पुनर्स्थापना र सुदृढीकरण, सामूहिक नेतृत्व प्रणालीको विकास, जनपक्षीय जीवनशैली, व्यवहार र आचरणको अवलम्बन, पार्टी जीवनमा लोकतान्त्रिक मूल्य मान्यताको अनुसरण र नीति नेतृत्व स्थापित गर्न नयाँ आधार तथा दृष्टिकोणको खोजी गर्ने उल्लेख छ।
रूपान्तरणको आधार जनतासँगको बलियो सम्बन्ध, लोकतान्त्रिक अभ्यास र संघर्षशील राजनीतिक संस्कार रहने पनि उनले बताएका छन्।
'एकता, अनुशासन र विधिसम्मत प्रणालीको अनुसरण गर्दै संस्थागत बाटोवाट नै यी उद्देश्य पुरा गर्न सकिन्छ,' उनले लेखेका छन्।
गत जेठ ४ देखि १० गतेसम्म अध्यक्ष ओलीकै उपस्थितिमा बसेको पार्टी सचिवालय बैठकले पुनर्गठनसम्बन्धी कार्ययोजना अघि बढाउने निर्णय गरेको थियो।
उपाध्यक्ष रामबहादुर थापा 'बादल' को नेतृत्वमा पार्टीका सात जना पदाधिकारी र आठ प्रदेश इन्चार्ज सदस्य रहने गरी कार्यदल गठन गरिएको छ।
कार्यदलले एक महिनाभित्र प्रतिवेदन तयार पारी असार तेस्रो साता (१५ देखि २० गतेभित्र) बस्ने केन्द्रीय कमिटी बैठकमा छलफल गराउने सचिवालय बैठकको निर्णय थियो।
यद्यपि कार्यदलले काम थाल्नुअगावै अध्यक्ष ओलीले पार्टी पुनर्गठनबारे सचिवालय बैठकको निर्णय विपरीतका अभिव्यक्ति दिएका छन्।
बिहीबारको कार्यक्रममा ओलीले पुनर्गठन पक्षधरहरूलाई आफूले तत्काल नेतृत्व नछाड्ने सन्देश दिइसकेका छन्।