प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ।
बिहान ११ बजे बस्नेगरी प्रतिनिधि सभा बैठक बोलाइएको छ।
बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची छ।
बजेटमाथिको छलफलसँगै विभिन्न विधेयकहरू पेश गर्ने कार्यक्रम तय गरिएको छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
बजेटमाथि सांसदहरूले राखेका जिज्ञासा र छलफलका क्रममा उठेका प्रश्नहरूको जबाफ समेत अर्थमन्त्रीले दिने कार्यसूची रहेको छ।
व्यवस्थापन कार्यअन्तर्गत अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षका लागि ‘विनियोजन विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ प्रश्तुत गर्न अनुमति माग्ने र ती विधेयकहरू सदनमा पेस गर्नेछन्।
साथै, ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक पेश गर्ने कार्यसूची समेत तय भएको छ।
यसैगरी, बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछन्।
सन्धि–सम्झौतासम्बन्धी कार्यअन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले दुईवटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय दस्ताबेज पेस गर्नेछन्।
जसमा ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१)’ र ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल (नं. २९)’ रहेका छन्।
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूले लगातार अवरोध गर्दै आएका छन्।
प्रधानमन्त्रीले संसदको रोस्ट्रमबाट नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि विपक्षीहरूले वेल घेराउ र नाराबाजी गर्दै आइरहेका छन्।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दैछ।