राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक सरेको छ।
गत जेठ १ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जेठ २८ र २९ गते केन्द्रीय कार्यसमिति बैठक आह्वान गर्ने निर्णय गरेको थियो।
सोही बैठकले तत्कालीन महामन्त्री धवलशम्शेर राणा सहितलाई महाधिवेशन कार्यतालिका मिति प्रस्ताव गर्न जिम्मेवारी दिएको थियो।
तर जेठ १७ गते धवल शम्शेरले राप्रपा नै परित्याग गरे। उनीसहित विभिन्न पद र तहमा रहेका १८६ जनाले राप्रपा छाडेका छन्।
पार्टीभित्र बदलिएको परिस्थितिबीच केन्द्रीय समिति बैठक मिति सारिएको छ।
‘राप्रपाको केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक केही दिन पर सरेको छ। यसअघि जेठ २८ र २९ गते हुने भनिएको बैठक विशेष कारणवश असार ५ र ६ गते काठमाण्डौंमा बस्ने भएको छ,’ प्रवक्ता मोहन श्रेष्ठले भने।
उक्त बैठकमा राजनीतिक, आर्थिक एवं सचिवालयसम्बन्धी प्रतिवेदन पेस गर्ने तयारी छ।
बैठकमा समसामयिक परिस्थितिको समीक्षा, संविधान संशोधनका सम्बन्धमा पार्टीको दृष्टिकोण, सांगठनिक सुदृढीकरण, सबै तहको अधिवेशन, पार्टीको महाधिवेशनको तयारी एवं महाधिवेशनको मिति समेत तय हुने उनले जानकारी दिए।
अध्यक्ष राजेन्द्र लिङ्देनले पनि केन्द्रीय कार्यसमिति बैठक असार ५ र ६ गते बस्ने बताए।
‘बैठकले महाधिवेशनको मिति साथै समसामयिक विषयमा छलफल र निर्णय गर्नेछ,’ उनले भनेका छन्।
राप्रपा महाधिवेशन तयारीमा लाग्दा धवल शम्शेर भने दुर्गा प्रसाईंसँग मिलेर नयाँ पार्टी बनाउने तयारीमा जुटेका छन्।