राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्ला सभापतिमा बुद्धिप्रसाद पन्त (हरि) निर्वाचित भएका छन्।
प्रथम जिल्ला अधिवेशनमा प्रतिद्वन्द्वी सुशील कुमार कानुलाई पराजित गर्दै उनी सभापतिमा निर्वाचित भएका हुन्। यसअघि पनि उनी नै जिल्ला सभापति थिए।
बुद्धिप्रसादले १६६ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी सुशीलले ११८ मत प्राप्त गरे। ४८ मत बढी ल्याएर जिल्ला सभापतिमा बुद्धिप्रसाद विजयी भएको निर्वाचन समितिका संयोजक नन्दन यादवले जानकारी दिए।
जिल्ला सभापतिमा प्रतिस्पर्धा गरेका दुवै जना प्रतिनीधि सभा सदस्य हुन्। ०८२ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बुद्धिप्रसाद पर्सा निर्वाचन क्षेत्र नं. १ बाट र सुशिल क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
जिल्ला नेतृत्व चयनका लागि सोमबार अबेर सम्पन्न निर्वाचनमा बुद्धिप्रसाद नेतृत्वको प्यानल नै निर्वाचित भएको छ।
उपसभापतिमा दिलीपकुमार कुर्मी १६२ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी रन्दीप श्रीवास्तवले ११४ मत प्राप्त गरे।
सचिवमा सुदिशकुमार प्रजापति १६० मतसहित निर्वाचित भए भने प्रतिस्पर्धी शिवकुमार साहले ११६ मत पाए। सहसचिवमा कृष्णा पासवान १४९ मतसहित विजयी हुँदा निरजकुमार साहले ११३ मत मात्रै पाए।
सदस्य पदतर्फ तुलसा पौडेल अधिकारीले सबैभन्दा बढी १६० मत प्राप्त गरिन्। सदस्यहरूमा प्रियंका कुमारी कुर्मी, पूर्णबहादुर सापकोटा, कामोध्या चौधरी र शशीदेवी थरुनी निर्वाचित भएका छन्।
रास्वपाको पर्सा जिल्ला कार्य समितिमा संस्थापन पक्षको पूर्ण वर्चस्व देखिएको छ।
पर्साका चार जना प्रतिनीधि सभा सदस्यमध्ये तीन जना एकातिर हुँदा पनि संस्थापन पक्षका बुद्धिप्रसादले सभापतिमा निरन्तरता पाएका छन्। उनी पार्टीका पुराना नेता कार्यकर्तालाई साथमा लिएर निर्वाचनमा होमिएका थिए।
सभापतिका उम्मेदवार सुशीललाई पर्सा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य रामाकान्त चौरसिया, पर्सा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य सांसद टेकबहादुर शाक्य तथा नेता सुधिर पटेलको समर्थन थियो।
निर्वाचनको पूर्वसन्ध्यामा दुई पक्षबीच झडप समेत भएको थियो।