नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन्।
जेठ १० गते बसेको सचिवालयको आठौं बैठकले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना तयार गर्न कार्यदल बनाएको थियो।
त्यसको पहिलो बैठक बसिरहेको हो। सचिवालय बैठकमा धारणा राख्ने क्रममा अधिकांश सचिवालय सदस्यहरूले पार्टी पुनर्गठनबारे धारणा राखेका थिए।
त्यसको निरूपण गर्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा कार्यदल गठन भएको थियो। उक्त १५ सदस्यीय कार्यदलले एक महिनाभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने समयसीमा तोकिएको छ।
बैठकले कार्यविधि तय गरेर प्रदेश, प्रदेश र आवश्यक परे जिल्ला जिल्लामा गएर सुझाव संकलन गर्ने तयारी गरेको छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी भएको एमाले सचिव महेश बस्नेतले जानकारी दिए। अध्यक्ष ओलीले संगठन सुदृढीकरण, निर्वाचन समीक्षाको निष्कर्ष तथा आगामी कार्यदिशाबारे आफ्नो धारणा राख्दै कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ सक्रिय हुन आग्रह गरेको बस्नेतले बताए।