श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति सच्याउन संकल्प प्रस्ताव पारित गर्ने तर्क गरेको छ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गाँठो फुकाउन भन्दै संकल्प प्रस्ताव पारित गर्नुपर्ने बताएका हुन्।
‘सबै जनालाई माया सम्झना! अब यो शैलीमा नबोली समस्या समाधान होला जस्तो लागेन। हामी धेरै नै औपचारिक भयौँ। औपचारिकता निभाउँदै अब गाँठो पर्यो। कसरी फुकाउने? प्रधानमन्त्रीज्यूलाई बोलाएको बोलायै गर्ने, उहाँ आउँदिन भन्नुहुन्छ। पकडेर, बोकेर ल्याउने चलन छैन। सभामुखज्यूले ल आउनुपर्छ भन्दा उहाँ मान्नु हुन्न। कहिलेकाहीँ आउनुहुन्छ। आएर फेरि के बोल्नुहुन्छ हुन्छ, समस्या भयो,’ उनले भने, ‘त्यसले गर्दाखेरि म आज एउटा संकल्प प्रस्ताव पेस गर्न चाहन्छु।’
उनले प्रतिनिधि सभा नियामावली टेकेर संकल्प प्रस्ताव अघि सारेको बताएका छन्।
‘प्रधानमन्त्रीजूले सभामा उठेका प्रश्नहरूको उत्तर दिने क्रममा नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ भन्ने राष्ट्र विरूद्धको अभिव्यक्तिलाई सभाको रेकर्डबाट अविलम्ब हटाउँदै प्रधानमन्त्रीको समेत लिखत वक्तव्य समावेश गरी आगामी दिनहरूमा नेपाल सरकारको प्रधानमन्त्री, मन्त्रीहरु, प्रतिनिधि सभाका सांसदज्यूहरू, कोही कसैले यस्तो राष्ट्रघाती र तथ्यहीन अभिव्यक्ति कहीँ कतै नदिने दिन नपाउने साथै राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय अखण्डताको सवालमा सत्ता पक्ष या प्रतिपक्ष नभइ सबैले दलीय या वर्गीय स्वार्थ र तहभन्दा माथि उठेर देशको पक्षमा एकताबद्ध बन्ने राष्ट्रिय सन्देश दिने संकल्प प्रस्ताव गरौँ भनि म यो निवेदन पेश गर्न चाहन्छु,’ उनले प्रतिनिधि सभा बैठकमा भने।