नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी छोडेर जान्छु भन्नेलाई फकाउन नलाग्न आग्रह गरेका छन्।
आज गोरखाको तीनधारेस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले भने, ‘अहिलेको बेला पार्टी अलिकति कमजोर भएको छ भनेर कतिपय मानिस यता मौका हुन्छ, उता मौका हुन्छ भनेर कोही दौडन्छ भने दौडन दिनुस्। धेरै फकाउनेतिर पनि नलाग्नुस्। पार्टीका साथीहरू छोडेर जान्छौं, वडाध्यक्ष, पालिका अध्यक्ष पाउँछौं, अब सकियो भन्ने हो भने उनीहरूलाई जान दिनुस्, धेरै चिन्ता नगर्नुस्।’
उनले कांग्रेसभित्रको फोहोर सफा बनाउनुपर्ने पनि बताए।
‘पार्टीको विचार र दृष्टिकोण ठिक गरौं, हिजो गठबन्धनका कारण ध्वस्त बनाएको राजनीति सपारौं, सत्ता-सत्ता-सत्ता भनेको ठाउँमा जनता-जनता-जनता भनौं, यी कुराहरू ठिक बनाऔं, आफै ठिक भएर आउँछ, चुम्मकजस्तो तान्दै ल्याउँछ,’ उनले भने, ‘हाम्रो मन्त्र नेता मिलाउने होइन अब पार्टीसँग जनतालाई मिलाउने हो। हामीसँग रिसाएका नागरिकलाई व्यवहारबाट फकाउने हाम्रो मन्त्र हुनुपर्छ, हामी यसतर्फ काम गर्छौं।’