प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुधन गुरूङलाई ल्याउनु सुशासनको भद्दा मजाक भएको टिप्पणी गरेको छ।
विपक्षी दलहरूको बैठकपछि मंगलबार सिंहदरबारमा बोल्दै एमाले प्रमुख सचेतक ऐन महरले यस्तो टिप्पणी गरेका हुन्।
उनले गृहमन्त्रीको सम्पत्ति विवरणबारे छानबिन गर्न आफ्नै मातहतमा आयोग बनाएर आरोपितहरू चोख्याउने काम गरेको बताए।
सुशासनको नयाँ नारा दिए पनि सरकारले पुरानै र जनस्तरबाट तिरस्कृत शैली अपनाएको उनको भनाइ छ।
विशेषगरी अर्थ मन्त्रालयसँग जोडिएका पछिल्ला विवादहरूमा गम्भीर प्रश्न उठाउँदै महरले संसदीय छानबिनको माग दोहोर्याए।
बिवाइडी गाडीको आयातमा भएको भनिएको कर छली र आर्थिक विधेयकमा करका दरहरू हेरफेर गरिएको विषयलाई उनले ‘नीतिगत भ्रष्टाचार’ र ‘राज्य विरूद्धको अपराध’ को संज्ञा दिए।
उनले भने, ‘अब यसमा सरकारले सुसज्जित सुशासन कायम गर्ने कुरा गरेको छ। तर आफूलाई नयाँ भन्ने सरकारले जुन प्रकारको अत्यन्त पुरानो, घृणित र जनताबाट तिरस्कृत शैली अपनाएको छ, त्यो विडम्बनापूर्ण, दुःखद् र अचम्मलाग्दो छ। विशेषगरी, कुनै ज्वलन्त प्रश्न उठेपछि सरकारले आफै आयोग गठन गर्ने, त्यसलाई म्यान्डेट तथा निर्देशन दिने, अनि त्यसैमार्फत् आफूलाई सफाइ दिने प्रयास गरेको छ। यसप्रति हाम्रो आपत्ति छ। म यस विषयमा दुःख व्यक्त गर्न चाहन्छु। नेपालीमा एउटा उखान छ, आफै धामीझाँक्री, आफै बोक्सी, सरकारले त्यही प्रयास गरेको देखिन्छ। यो सुशासनको भद्दा नमूना हो।’
विपक्षी दलहरूले सरकारले गठन गरेका छानबिन संयन्त्रहरूले निष्पक्ष परिणाम नदिने भन्दै संसद्मार्फत नै उच्चस्तरीय छानबिन हुनुपर्ने अडान राखेका छन्।–न्युज एजेन्सी नेपाल