अवरूद्ध प्रतिनिधि सभाको बैठक खुलाउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ प्रस्ताव राखेका छन्।
नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद अवरूद्ध पार्दै आएका छन्।
अवरूद्ध संसद खुलाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालले जबाफ दिने प्रस्ताव गरेका हुन्। उनले प्रधानमन्त्रीको तर्फबाट भनेर स्पष्ट उल्लेख गरेर नै मन्त्री खनालले बोल्ने प्रस्ताव गरेको स्रोतले बतायो।
लामिछानेले नयाँ प्रस्ताव ल्याएपछि विपक्षी दलहरू प्रधानमन्त्रीको साटो परराष्ट्र मन्त्रीले बोल्ने कुरामा सहमत भएका छन्। तर उनीहरूले एउटा सर्त अघि सारेका छन्।
'प्रधानमन्त्री आउन नसक्ने कारण बताएर प्रधानमन्त्रीको हस्ताक्षर भएको लिखित जबाफ जुनसुकै मन्त्रीले पढ्दा हुन्छ भनेर विपक्षीहरूले धारणा राख्नुभएको छ,' रास्वपाका एक सांसदले भने, 'प्रधानमन्त्री साटो अर्को मन्त्रीले जबाफ दिए हुन्छ भन्ने त भयो। तर हस्ताक्षर भएको लिखित धारणामा कुरा मिलेको छैन।'
विपक्षी दलहरू केही लचिलो भएपछि आज ११ बजेका लागि डाकिएको बैठक २ बजेका लागि सारिएको छ।
विपक्षी दलका एक नेताले पनि प्रधानमन्त्रीको लिखित स्टेटमेन्ट चाहिने आफूहरूको अडान रहेको सेतोपाटीलाई बताए।
'सबै दलको प्रधानमन्त्रीको लिखित धारणा चाहिन्छ भन्ने छ,' ती नेताले भने, 'रविजीले परराष्ट्र मन्त्री बोल्नुहुन्छ भनिराख्नुभएको छ।'
छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लचिलो ढंगले प्रस्तुत भएको ती नेताले बताए।