नेपाली कांग्रेसका संसदीय दल नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संसद नचाहिए पनि प्रतिपक्षीहरूलाई संसद चाहिएको बताएका छन्।
प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि उक्त अभिव्यक्ति फिर्ता लिन प्रतिपक्षी दलहरूले आग्रह गर्दै आएका थिए। तर प्रधानमन्त्री संसदमा आएनन्। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रष्टीकरण दिए।
त्यसपछि प्रमुख प्रतिपक्षी दल नेता आङ्देम्बेले प्रतिपक्षीलाई सदन चाहिएको बताएका हुन्।
‘बजेट उपर छलफल बाँकी छ। जनताका जीवन्त मुद्दामा छलफल गर्नुछ, प्रधानमन्त्रीजीलाई संसद नचाहिएला, नचाहिएला प्रधानमन्त्रीलाई तर प्रतिपक्षीलाई संसद चाहिएको छ, फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्रीजी आउनुहोला, त्यस्तो नहोस् डर लाग्छ फेरि उदण्डता मच्चाइदिनुहोला,’ उनले भने, ‘तर म अब उप्रान्त उहाँलाई खोज्न चाहन्नँ, किनभने मेरो मुलुकको समस्या र प्रश्नहरू उहाँको उपस्थितिभन्दा ठूलो र संवेदनशील छ।’
प्रधानमन्त्रीले बोलेकै कुरामा मात्र अलमलिएर संसदको अमूल्य समय खेर फाल्न हुन्न भनेर जिम्मेवारीबोध गर्ने काम गरिएको पनि उनले बताए।
‘नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति थियो, यसलाई जतिसुकै रफू र विशेषण शब्द थपे पनि दुनियाँले सुनेको र उहाँले भनेको यही हो,’ उनले भने, ‘त्यो अभिव्यक्ति आपत्तिजनक थियो।’
प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिए पनि सत्तारूढ शीर्ष नेताहरू र रास्वपाका सांसदहरू नबोलेको उनले बताए। रास्वपाका सांसदहरूको मुखमा सत्ताको टेप टाँसिएको उनको भनाइ थियो।