राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले गरेको गम्भीर राजनीतिक तथा भूराजनीतिक त्रुटिलाई मन्त्रीले सच्याउने अभ्यास कहीँ नभएको बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठमा बोल्दै सांसद शाहीले अन्यत्र मन्त्री, सांसद वा अन्य पदाधिकारीबाट कूटनीतिक त्रुटि भए प्रधानमन्त्रीले अभिभावकत्व ग्रहण गर्दै सच्याउने परम्परा रहेको बताए।
‘सामान्यतया जिम्मेवार परिपक्व शासन अवस्थामा ठीक उल्टो हुन्छ। मन्त्री, सांसद वा अन्य पदाधिकारीबाट कूटनीतिक त्रुटि भए प्रधानमन्त्रीले अभिभावकत्व ग्रहण गर्दै सच्याउँछन्। राष्ट्रिय धारणा स्पष्ट पार्छन्, मुलुकलाई एकीकृत दिशामा अघि बढाउँछन्। तर दुर्भाग्यवश आज हामीले त्यसको विपरीत अवस्था देखिरहेका छौं,’ उनले भने।
देशको प्रधानमन्त्रीले संसदको रोष्ट्रमा उभिएर दिएको अभिव्यक्ति चिया पसमा बोलेको अभिव्यक्ति नभएको सांसद शाहीको भनाइ थियो।
‘अहिले त ठीकै छ केही भएन। भोलि त तपाईंले हाम्रो भूभाग मिचेका छौ, हाम्रो यतियति भूभाग कहाँ छ देऊ भन्यो भने कहाँ दिने हो? यो अति संवेदनशील विषय हो। प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा परराष्ट्र मन्त्रीले जुन अभिव्यक्ति दिनुभयो, नेपालको राजनीतिक इतिहासमा शायद यो पहिलोपटक यस्तो अवस्था देखियो। विश्वमै पहिलोपटक देखियो। तपाईं हामीभन्दा कलिला उमेरका प्रधानमन्त्री भएका देश पनि छन्। तपाईं, हामीभन्दा बढी विज्ञ र क्षमतावान पनि छन्। पहिलोपटक यस्तो देखियो, जहाँ कार्यकारी प्रमुखबाट भएको गम्भीर राजनीतिक तथा भूराजनीतिक त्रुटिलाई मन्त्रीहरूले सच्याउने परिस्थिति आयो,’ उनले भने।