प्रतिनिधि सभा सदस्य एवम् श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भएको भन्दै असन्तुष्टि जनाएका छन्।
सभामुख डोलप्रसाद अर्यालबाट विभेद गरिएको भन्दै उनले संसदीय व्यवस्थाको मर्मअनुरूप संसद नचलेको बताएका हुन्।
‘प्रधानमन्त्रीले बोलेको कुरा सच्चाउनु पर्छ भन्ने मागसहित असहमति व्यक्त गरिरहँदा बुधबार परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले राखेको उक्त अभिव्यक्तिको स्पष्टीकरण दिन लाग्दा श्रम संस्कृति पार्टीको असहमति र विरोध रहेको थियो,’ उनले विज्ञप्तिमार्फत् भनेका छ्न, ‘त्यो देखेर सबै प्रतिपक्षी दलका नेताहरूलाई रोष्ट्रम प्रयोग गरी बोल्न दिँदा श्रम संस्कृति पार्टीलाई बोल्न नदिनुले सभामुखले पक्षपात गरेको आफू आएको दलको सरकारको गल्ती ढाकछोप गर्न खोजेको र सरकारको पक्षमा उभिएको देखिन्छ। विधिको शासनमा विश्वास गर्ने हाम्रो पार्टीले सार्वभौम संसदभित्र सभामुखजस्तो जिम्मेवार पदबाट यस्तो विभेदकारी व्यवहार हुँदा लोकतान्त्रिक संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोतिएको छ।’
संसदको मर्यादा र गरिमा दिनदिनै खस्कँदै गइरहेको उनले बताएका छन्। यसो हुनुमा सभामुखको कमजोरी नै प्रमुख कारण रहेको उनले आरोप लगाएका छन्।
‘हालसम्म सदनको प्रतिनिधि सभामा रुलिङ गर्न नसकिएका नियम १५–२ साथै ४–१ साथै उलंघन गरिएका संविधानका धाराहरू ७५–१ साथै ७७–१–ग साथै ७६–१० रहेकाछन्। यसरी सबै भन्दा जिम्मेवार र विधिसम्मत मानिने र मान्नु पर्ने सदनमै नियम र व्यवस्था मानिँदैन भने देशभर शान्ति सुरक्षा र सुशासन सुव्यवस्था कायम र सुदृढ कसरी गर्न सकिएला? सरकारको पक्षबाट र सभामुखको पक्षबाट यस्ता गल्तीहरू अविलम्ब सच्चाइयोस् भनी सुझाव दिन चाहन्छौं,’ उनले भनेका छन्।
