नेपाली कांग्रेसको असोजमा तय १५ औं महाधिवेशनमा भाग लिन आज मध्यरातभित्र क्रियाशील सदस्यता अद्यावधिक गरिसक्नुपर्ने भएको छ।
क्रियाशील सदस्यता अध्यावधिकका लागि तोकिएको समय आज मध्यरात १२ बजेसम्म बाँकी छ।
महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले आज मध्यरातसम्म क्रियाशील सदस्यता अद्यावधिक गर्न सकिने बताए। त्यसपछि समय थप नहुने उनको भनाइ छ।
उनकाअनुसार क्रियाशील सदस्यता अध्यावधिक गर्न योग्य कूल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये जेठ २७ गते बेलुकीसम्म ४ लाख ५७ हजार ३६६ जनाले एनसीआइडी प्राप्त गरिसकेका छन्। एनसीआइडी नहुनेले महाधिवेशनमा भाग लिन नपाउने कांग्रेसले जनाएको छ।
यसबाहेक थप १ लाख २४ हजार ७४८ जनाले स्वयं अध्यावधिक फाराम पेस गरी अध्यावधिक प्रक्रियामा सहभागी भइसकेको उनले बताए। गत पुससम्म नवीकरण र नयाँ सदस्यता लिएकाहरूको थप विवरण माग गर्दै क्रियाशील अद्यावधिक गरिएको हो।
कांग्रेसको वेबसाइटमार्फत हरेक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट सहज रूपमा सदस्यता अध्यावधिक गर्न सक्ने व्यवस्था गरिएको बताउँदै उनले प्रक्रिया थाहा नभए वडा सभापति वा जानकार व्यक्तिको सहयोग लिएर भए पनि समयमै अध्यावधिक गर्न आग्रह गरेका छन्।
कांग्रेसले सदस्यता व्यवस्थापनलाई डिजिटल र व्यवस्थित बनाउने उद्देश्यका साथ अनलाइन माध्यमबाट क्रियाशील सदस्यता अध्यावधिक अभियान सञ्चालन गर्दै आएको छ।
विगतमा सदस्यको नामबाहेक अन्य विवरण कांग्रेससँग थिएन। क्रियाशील सदस्यको व्यवस्थित रूपमा अभिलेखीकरण नहुने अवस्थाको अन्त्य गर्दै डिजिटल प्रणालीमार्फत सदस्यहरूको आधारभूत विवरण व्यवस्थित र अद्यावधिक हुन लागेको हो।