नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले लागुऔषध नियन्त्रणका लागि सञ्चालन गरिने अपरेशन र सूचना संकलनका लागि अत्यन्तै न्यून बजेट छुट्याएको बताएका छन्।
बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै आइजिपी कार्कीले अपरेशन र सूचना संकलनका लागि ५-५ लाख रुपैयाँ छुट्याएको र त्यो रकम अत्यन्तै न्यून भएको बताएका हुन्।
उनले लागुपदार्थ सेवन (लापसे) जाँच गर्ने उपकरण (ब्रेथलाइजर जस्तै), एक्सरे मेसिन र दक्ष प्राविधिक जनशक्तिको अभावले गर्दा अनुसन्धानमा कठिनाइ भइरहेको पनि उनले बताए। पक्राउ परेका घाइते वा बिरामी अभियुक्तको उपचार खर्च समेत प्रहरीले नै व्यहोर्नुपर्ने बाध्यता रहेको उनले बताए।
नेपालमा लागुऔषधको दुर्व्यसनी र कारोबार जटिल बन्दै गएको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोले सिमित स्रोतसाधनका बाबजुद आफ्नो सक्रियता बढाएको उनले बताए।
‘लागुऔषध नियन्त्रण ब्युरोले आगामी तीन वर्षका लागि (२०८३–२०८६) विशेष कार्ययोजना तर्जुमा गरेको छ। यस अन्तर्गत ‘इन्टिग्रेटेड नार्कोटिक इन्टेलिजेन्स म्यानेजमेन्ट सिस्टम’ लागू गर्ने लक्ष्य राखिएको छ, जसमा गृह मन्त्रालय, अध्यागमन, भन्सार र नेपाल प्रहरीबीच समन्वय हुनेछ। साथै, ७७ वटै जिल्लामा वस्तुगत सर्वेक्षण गरी पकेट क्षेत्रहरू पहिचान गर्ने र ‘इन्टेलिजेन्स लेड पोलिसिङ’ मार्फत नियन्त्रण अभियान चलाउने योजना रहेको छ,’ कार्कीले भने।
ब्युरोले लागुऔषध अपराधलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग जोडेर समेत अनुसन्धान प्रक्रिया अगाडि बढाएको उनले बताए।
–न्युज एजेन्सी नेपाल