सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद बुद्धरत्न महर्जनले विद्युतीय गाडीमा शून्य भन्सार लागू गर्नुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सांसद महर्जनले नेपालमा पेट्रोलियम पदार्थको खानी नभएको तर आफ्नै विद्युत उत्पादन हुने भएकाले विद्युतीय सवारी साधनमा शून्य भन्सारको नीति अवलम्बन गर्नुपर्ने बताएका हुन्।
'स्वदेशी विद्युतको खपत बढाउन र जनतालाई सुविधा दिन विद्युतीय सवारीसाधनमा शून्य प्रतिशत कर लगाउनुपर्छ,' उनले भने।
यसो गर्दा विदेशमा ४ लाख पर्ने गाडी नेपाल आइपुग्दा १८/२० लाख तिर्नुपर्ने अवस्था अन्त्य हुने उनले बताए।
'कर घटाएर त्यस्ता गाडीहरू नेपालमा ६-७ लाखमै उपलब्ध गराई सर्वसाधारणलाई सहज रूपमा सुविधा लिनसक्ने वातावरण बनाउनुपर्छ,' उनले भने।
उनले विद्युतीय सवारीसाधनको भन्सार जाँचपास प्रक्रिया कानुनी रूपमा मात्र नभई पूर्ण रूपमा पारदर्शी हुनुपर्ने र यसको सम्पूर्ण जानकारी जनतालाई हुनुपर्ने पनि बताए।
'गाडीको मूल्य निर्धारण (भ्यालुएसन) सरकारले गर्छ कि व्यापारीले भन्ने कुरा स्पष्ट हुनुपर्छ। कुन मूल्यको आधारमा कति भन्सार कर लाग्छ भन्ने विवरण वेबसाइटमार्फत सार्वजनिक हुनुपर्छ,' उनले भने।
त्यस्तै करको दर संयोजन गरी न्यूनतम बनाउनुपर्ने पनि उनले बताए।
'बाटो, जग्गा, घरदेखि गाडीसम्म जताततै कर तिर्नुपर्ने अवस्थाले जनता मारमा परेका छन्। जनता धनी भए मात्र देश धनी हुन्छ,' उनले भने।