सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विपिन आचार्यले बिवाइडी जस्ता अन्तर्राष्ट्रिय ब्रान्डलाई लक्ष्य गरी विना प्रमाण आरोप नलगाउन विपक्षी दलका सांसदहरूलाई आग्रह गरेका छन्।
बिहीबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बिवाइडी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने विपक्षी दलहरूले माग गरेपछि सांसद आचार्यले विना प्रमाण आरोपित नगर्न भनेका हुन्।
'बिवाइडी जस्ता अन्तर्राष्ट्रिय ब्रान्डलाई लक्षित गरी विना प्रमाण आरोप लगाउँदा विश्वव्यापी रूपमा कम्पनीको प्रतिष्ठामा आँच आउनुका साथै भविष्यको वैदेशिक लगानीमा असर पर्न सक्छ। केही कमजोरी भएमा त्यो स्थानीय आयातकर्ताको हुन सक्छ, तर सिंगो ग्लोबल ब्रान्डलाई बदनाम गर्नु गलत हो,' उनले भने।
उनले कर तथा भन्सार प्रणालीको यथार्थ जानकारी नराखी भाइरल हुने र हेडलाइन बनाउने होडमा अर्थमन्त्रीमाथि हतारमा प्रश्न उठाउने प्रवृत्ति बढेको बताए।
'यसरी जथाभावी आरोप लगाउने कुरालाई सामान्यीकरण गर्दा देश र संस्थाको विश्वसनीयता गुम्ने खतरा हुन्छ,' उनले भने।
सांसद तथा सरोकारवालाहरूले प्रश्न गर्नु अघि विषयवस्तु र प्रक्रियाको गहिरो अध्ययन नगरेको पनि उनको दाबी थियो।
'च्याटजीपीटी वा जेमिनाइ प्रो जस्ता एआई टुलहरूको मात्र भर परेर सतही प्रश्न गर्दा समग्र संरचना नै हल्का हुने र विश्वसनीयता घट्ने भएकाले यस्तो प्रवृत्तिबाट बच्नुपर्छ ,' उनले भने।
आचार्यले भविष्यमा काम नलाग्ने हुने इभी का ब्याट्रीहरूले ठूलो प्रदूषण निम्त्याउने हुँदा उत्पादक कम्पनीले नै ती ब्याट्री फिर्ता लैजाने व्यवस्था गर्ने वा नेपालमै यसको उचित व्यवस्थापन गर्ने नीति हुनुपर्ने पनि बताए।
विद्युतीय सवारीसाधनको कर निर्धारण गर्दा मूल्यलाई मात्र आधार मान्नु नहुने बताए।