नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की पूर्वसांसद छिरिङ ल्हामु लामाले पार्टी परित्याग गरेकी छन्।
पार्टीमा निर्बाध काम गर्न नपाएको भन्दै नेता लामाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर पार्टी छाडेको जानकारी दिएकी हुन्।
‘आफू बाहेक अरू कसैको अस्तित्व, क्षमता र योगदानलाई स्वीकार गर्न नसक्ने मानसिकताका कारण मैले आफ्नो कार्यकालभरि असंख्य पीडा, अपमान, निषेध र षड्यन्त्रहरू सहनुपर्यो। हरेक पाइलामा रोक्ने, हरेक प्रयासमा अवरोध खडा गर्ने, र अरूलाई अगाडि बढेको देख्न नसक्ने अपराधी मानसिकतासँग अब सँगै यात्रा गर्न सम्भव छैन,’ उनले लेखेको छन्।
जहाँ युवाको विचारलाई निषेध गरिन्छ, नयाँ पुस्ताको आवाजलाई दबाइन्छ, सामान्य मानवीय व्यवहारसमेत गरिँदैन, त्यस्तो वातावरणबाट आफू मुक्त हुन चाहेको उनको कथन छ।
‘मैले कुन हदसम्मको पीडा भोगेको छु भन्ने कुरा मलाई मात्र थाहा छ। ती पीडाहरू यति गहिरा छन् कि आज पनि शब्दहरूले पूर्ण रूपमा बयान गर्न सकिरहेका छैनन्। मेरोविरुद्ध चौतर्फी षड्यन्त्रका जालो बुन्ने, मेरो आत्मबल कमजोर पार्ने, मलाई राजनीतिक र व्यक्तिगत रूपमा समाप्त पार्ने प्रयासहरू बारम्बार भए। तर भाग्यवश मेरो आत्मविश्वास र संघर्षशीलताले ती सबै षड्यन्त्रहरूको सामना ग¥यो। अन्यथा मलाई समाप्त गर्न कुनै कसर बाँकी राखिएको थिएन,’ उनले गुनासो गर्दै भनेकी छन्।
यो निर्णयपछि कतिपयले अवसरवादी भन्नसक्ने, आलोचना गर्ने र अनेक आरोप लगाउनसक्ने बताएकी छन्। तर अवसरवादीको आरोप लगाउनुभन्दा पहिले आफ्नो पार्टीभित्रको पृष्ठभूमि, संघर्ष र यात्रालाई एक पटक अध्ययन गर्न सुझाव दिएकी छन्।
‘मैले आजसम्म पाएको कुनै पनि जिम्मेवारी मागेर, दाबी गरेर वा दबाब दिएर पाएको होइन। समयले मेरो काँधमा जिम्मेवारी राखिदिएको थियो र मैले त्यसलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रयास मात्र गरेको हुँ। त्यसैले सबैलाई एउटै तराजुमा जोख्ने प्रयास कसैले नगरोस् भन्ने विनम्र आग्रह गर्दछु। म सही छु कि गलत, त्यसको अन्तिम फैसला समयले गर्नेछ। समयभन्दा ठूलो न्यायाधीश कोही हुँदैन। मैले गरेको संघर्ष, योगदान र समर्पणको मूल्यांकन पनि समयले अवश्य गर्नेछ भन्ने विश्वास राखेको छु,’ उनले भनेकी छन्।
एउटा पीडित र पीडा दिने मानसिकता एउटै छानामुनि बसेर लामो समयसम्म सहयात्रा गर्न नसक्ने भएकाले आफू अलग्गिएको उनको भनाइ छ।
केही व्यक्तिहरूले गरेको अन्याय, अत्याचार र निषेधको सीमा नाघेपछि आफूले पार्टी परित्याग गरेको उनको भनाइ छ।
‘इमानदारीको जगमा उभिएको मेरो अस्तित्व अपराधी मानसिकतासँग सम्झौता गरेर बाँच्न सक्दैन। समाज बदल्ने र देश बदल्ने संकल्प बोकेर धेरै कुरा त्याग गरेरा हिडेको म जब त्यही सपना र उद्देश्य पूरा गर्ने बाटोमा निषेध, अवरोध र अपमान खडा गरिन्छ, तब त्यस्ता मानसिकतासँग सम्झौता गरेर बस्नु भन्दा तिनीहरूलाई छोडेर अगाडि बढ्नु नै उचित हुन्छ। म काम गर्ने मान्छे हुँ। मलाई सधैं अपमान र अमानवीय व्यवहार होइन, आत्मसम्मान र मेरो अस्तित्वको सम्मान चाहिन्छ। जहाँ विचार, योगदान र संघर्षको कदर हुँदैन, त्यहाँ बसिरहनुभन्दा आफ्नो बाटो रोज्नु नै सही निर्णय हो। अझै धेरै लामो यात्रा गर्न बाँकी छ। अझै धेरै संघर्षहरू गर्न बाँकी छन्। तर ती संघर्षहरू म स्वतन्त्र भएर, आत्मसम्मानका साथ र सहज रूपमा गर्न चाहन्छु; हरेक दिन षड्यन्त्रको शिकार भएर होइन,’ उनको भनाइ छ।
त्यसैले आजकै मितिदेखि पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग भइ स्वतन्त्र रहने निर्णय गरेको घोषणा गरेको उनको भनाइ छ।
‘मलाई यो निर्णय लिन बाध्य बनाउने संकीर्ण, असहिष्णु र निषेधको राजनीतिलाई धन्यवाद दिन चाहन्छु, किनकि त्यसैले मलाई स्वतन्त्रताको मूल्य अझ गहिरो रूपमा बुझाएको छ,’ उनले भनेकी छन्।
उनी २०७९ सालमा समानुपातिकतर्फबाट सांसद निर्वाचित भएकी थिइन्।