नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिजासमेत रहेका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गरेका छन्।
उनले धनगढी वडा नम्बर ४ बाट क्रियाशील सदस्यता अद्यावधिक गरेका हुन्।
केही समयदेखि अमेरिकामा रहेका उनले अनलाइनमार्फत् क्रियाशील अद्यावधिक गर्न आवेदन दिएका थिए। उनको सदस्यता अद्यावधिक भएको क्रियाशील सदस्यता व्यवस्थापन समितिले जनाएको छ।
कांग्रेसले गत पुससम्म नवीकरण र नयाँ सदस्यता लिएकाहरूको थप विवरण लिएर अद्यावधिक गरिरहेको छ। वैशाख १ देखि आज जेठ २८ गते मध्यरातसम्म क्रियाशील अद्यावधिक समय तोकिएको थियो।
निवर्तमान सभापति देउवा पक्ष, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले क्रियाशील अद्यावधिक नगर्न अपिल गरिरहे पनि उनीहरूनिकट नेता कार्यकर्ताहरूले क्रियाशील अद्यावधिक गरेका छन्।
कांग्रेसले क्रियाशील अद्यावधिक नगर्नेहरू १५ औं महाधिवेशनमा सहभागी हुन नपाउने बताइरहेको छ।