राष्ट्रिय स्वतन्त्र पार्टीले विचारका सात आधार तयार पारेको छ।
पहिलो महाधिवेशनमा प्रस्तुत हुने विधानको मस्यौदामा रास्वपाले पार्टीको राजनीतिक दर्शन र वैचारिक दृष्टिकोणको आधार तयार पारेको हो।
रास्वपाले विचारको पहिलो आधारका रूपमा पूर्ण लोकतान्त्रिक गणतन्त्र र विधिको शासनलाई अघि सारेको छ।
प्रस्तावित विधानमा वैयक्तिक स्वतन्त्रता र मौलिक हकको पूर्ण प्रत्याभूतिसहितको बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासनको अभ्यास गर्ने उल्लेख छ।
त्यस्तै वैचारिक कडीको दोस्रो आयामका रूपमा सामाजिक न्याय र उदार अर्थतन्त्रलाई समावेश गरेको छ। जसअनुसार समतामूलक उन्नतिप्रति कटिबद्ध रहँदै, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र र प्रतिस्पर्धात्मक सामाजिक बजार व्यवस्था अवलम्बन गर्ने रास्वपाले बताएको छ।
रास्वपाले संवैधानिक समाजवादलाई वकालत गर्दै आएको छ। प्रस्तावित विधानमा यसबारे थप व्याख्या–विश्लेषण गरेको छ। जसअनुसार शान्तिपूर्ण मार्गबाट नै समाजवादका प्रधान लक्ष्यहरू हासिल गर्दै राष्ट्रिय नीति तथा कार्यक्रममा आधारित राज्य सञ्चालन गर्ने उल्लेख गरेको छ।
चौथो आधारमा रूपमा समन्यायिक समावेशितालाई अघि सारेको छ। यसमा अवसरहरूको न्यायिक वितरण, पहुँच र उपयोगमार्फत सबै प्रकारका संरचनात्मक विभेदहरू (लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय आदि) को अन्त्य गर्दै समन्यायिक समावेशी समाजको निर्माण गर्ने उल्लेख छ।
पाँचौं आधारमा रूपमा रास्वपाले योग्यता, सुशासन र सदाचारलाई जोड दिएको छ।
राज्य संयन्त्रमा योग्यता, दक्षता र कर्मशीलतालाई प्रश्रय दिँदै भ्रष्टाचार र अनियमितताप्रति पूर्ण रूपमा शून्य सहनशीलताको नीति अवलम्बन गर्ने यस नीतिमा उल्लेख गरिएको छ।
छैटौं आयामका रूपमा सनातन सभ्यता र सांस्कृतिक सहअस्तित्वः नेपालको इतिहास, सनातन सभ्यता तथा धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मानको प्रबद्र्धन गर्ने उलेख छ।
सातौं आधारका रूपमा रास्वपाले उन्नत लोकतन्त्र, सुशासन र पार्टी सञ्चालनका आधारस्तम्भ मानेको छ।
‘यस दफामा उल्लेखित आधारभूत लोकतान्त्रिक मूल्य, मान्यता र सुशासनका सिद्धान्तहरू पार्टी सञ्चालनका प्रस्थान बिन्दु हुनेछन्। पार्टीका सम्पूर्ण संरचना, कार्यविधि र नीतिहरू अनिवार्य रूपमा यसैको अधीनमा रही निर्देशित हुनेछन्,’ प्रस्तावित विधानमा भनिएको छ।
रास्वपाको पहिलो महाधिवेशन यही असार ७, ८, ९ गते चितवनमा हुँदैछ।