देशमा उत्पादित अपार विद्युतको अधिकतम उपयोग गर्नुपर्नेमा सरकारले उल्टै विद्युतमा कर लगाएर ग्यासलाई प्रोत्साहन गरेको भन्दै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारको आलोचना गरेका छन् ।
संसदमा बजेटमाथिको छलफलमा दुलालले घरायसी प्रयोग हुने ५० युनिटमाथिको विद्युतमा ५ प्रतिशत भ्याट लगाएपछि विद्युतभन्दा ग्यास सस्तो हुन पुगेको उल्लेख गर्दै सरकारलाई प्रश्न गरे- अब भन्नुस् विद्युत प्रयोग गरौं कि ग्यास?
नाकाबन्दीमा विद्युतीय चुल्होको बानी परेका नेपालीलाई यस बजेटले निराश बनाएको दुलालले बताए। बजेटको कर प्रणाली प्रगतिशील नभई प्रतिगामी (रिग्रेसिभ) भएको उनको दाबी थियो। इतिहासमै पहिलो पटक बिरामीको उपचारमा समेत प्रत्यक्ष कर लगाइएको भन्दै उनले यस्तो प्रावधानलाई कसरी समर्थन गर्ने भनी सरकारलाई प्रश्न गरे।
बजेटले भुइँमान्छे र किसानका वास्तविक समस्या नबुझेको दुलालको आरोप छ। लप्से गाउँकी एक वृद्धाको गुनासो सुनाउँदै उनले बजेटले लाखौँ किसानले भोगिरहेको बाँदरको आतङ्कलाई भुलेको बताए।
यसैगरी, बजेटमा घोषणा भएको २ करोडको कृषि परियोजनामा पाइने ४० लाख अनुदान वास्तविक किसानको पहुँचमा नभई व्यवसायीहरुको पोल्टामा मात्र जाने यथार्थ उनले औंल्याए । दुर्गम बस्तीहरुको स्थानान्तरणमा बजेटको ध्यान नपुगेको भन्दै दुलालले आफ्नो निर्वाचन क्षेत्रको लार्के माथि भिर र जंगलका बीचमा रहेका बस्तीहरुको उदाहरण दिए ।
त्यस्ता ठाउँमा बाटो र बिजुली पुर्याउनुभन्दा सिंगो गाउँलाई नै सुन्दर सहर उन्मुख ठाउँमा स्थानान्तरण र व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ। यस्ता दशौँ हजार बस्तीहरुको स्थानान्तरण गर्ने नीति न विगतमा आएको, न अहिले आएको भन्दै उनले चिन्ता व्यक्त गरे ।