राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद निशा डाँगीले हात्ती आतंकबाट आजित झापा बाहुनडाँगीवासीले राज्य भएको महसुस गर्न नपाएको गुनासो गरेकी छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले बाहुनडाँगीवासी प्रत्येक रात मृत्युको त्रास लिएर सुत्ने गरेको उनले बताएकी हुन्।
‘प्रत्येक साँझ ४० देखि ५० को हाराहारीमा भारतबाट नेपाल हात्तीहरू प्रवेश गर्ने गर्छन् र ती हात्तीहरू रातभरि बाहुनडाँगीमा बस्छन्। बिहान भएपछि पुनः भारत फर्कने गर्छन्। यो समस्या केवल ज्यान जाने कुरा मात्रै होइन वर्षभरि पसिना बगाएर लगाएको धान, मकै, सुपारी र अन्य बाली एकै रातमा नष्ट हुन्छ। घरगोठ भत्किन्छन्। किसानको महिनौँको मेहनत केही समयमै समाप्त हुन्छ। आजको दिनसम्म पनि मेरा बाहुनडाँगीवासीहरूले राज्य भएको महसुस गर्न पाएका छैनन्,’ उनले भनिन्।
आइतबार बिहान ६२ वर्षीया पद्मा पौडेलले आफ्नै घर बाहिर निस्किएर फूल टिप्ने क्रममा हात्तीको आक्रमणमा परि ज्यान गुमाएको पनि उनले बताइन्। सोमबार बिहान मेची नगरमा तीन बिगाहा जति खेतमा लगाइएको मकै हात्तीले नष्ट गरिदिएको उनले बताइन्।
‘बाहुनडाँगीका मानिसहरूका लागि हात्तीको त्रास यो कुनै नयाँ कुरा होइन। यो समस्या विगत ३५–४० वर्ष देखि भोग्दै आइरहेका छन्। बिहान खेतमा जादाखेरी हात्तीले मारिदिन्छ कि भन्ने डर हुन्छ उहाँहरूलाई। साझ फर्कंदा बाटोमै हात्तीले आक्रमण गर्छ कि भन्ने डर हुन्छ। त्यति मात्रै होइन राति सुतेकै ठाउँमा हात्ती आएर घर भत्काएर सुतेकै ठाउँमा आक्रमण गरेर परिवारलाई एउटै चिहान बनाइदिन्छ कि भन्दै दैनिकी बितिरहेको हुन्छ,’ उनले भनिन्।