नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा मत, मतामत, सहमति, असहमति नरहेको र पुनर्गठन कार्यदल संस्थागत भएको बताएका छन्।
सोमबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले पार्टीलाई पुनर्गठनको दिशामा कसरी अगाडि बढाउने भन्ने विषयमा पार्टी पंक्तिको भावनाको प्रतिनित्व गर्दै कार्यदलका तर्फबाट सुझाव संकलन भइरहेको बताएका छन्।
‘अहिले पार्टीले संस्थागत हिसाबले नै केही काम गर्न खोजेको छ। पहिलो कुरा आम निर्वाचन २०८२ को समीक्षा गर्नेछौं र पार्टीलाई पुनर्गठनको दिशामा कसरी अगाडि बढाउनु पर्दछ भन्ने विषयमा पार्टी पंक्तिको भावनाको प्रतिनित्व गर्दै कार्यदलका तर्फबाट सुझाव संकलन गर्ने प्रक्रियामा छ। अहिले पार्टी कुनै निष्कर्षमा पुगेको छैन,’ उनले भने।
अहिलेको अवस्थामा पार्टी नयाँ ढंगले अगाडि बढ्नु पर्दछ भन्ने मान्यताको पक्षमा रहेको उनले बताए।
‘त्यो नयाँ ढंगले अगाडि बढ्ने कुराका सन्दर्भमा चाहिँ स्वाभाविक रुपमा पार्टीको कन्सर्न के हो त भन्दाखेरि वैचारिक, राजनीतिक र संगठनात्मक हिसाबले पार्टीलाई थप एकताबद्ध बनाउने काम गर्नुपर्दछ भन्ने पार्टीको बुझाइ हो, आवश्यकता हो। त्यस अर्थमा हामीले गरिरहेको कामको एउटा उद्देश्य के हो त भन्दा पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रुपमा एकताबद्ध बनाऊँ। दोस्रो कुरा यो एकताबद्ध बनाउनका लागि चाहिँ यथास्थितिमा सम्भव छैन। त्यसका लागि पार्टीमा शुद्धीकरण आवश्यक छ। सुदृढीकरण आवश्यक छ। पार्टीमा पुनर्जागरण आवश्यक छ। पार्टीको निष्कर्ष हो,’ उनले भने।
पार्टीमा शुद्धीकरण, सुदृढीकरण र पुनर्जागरण आवश्यक रहेको र यी तीनटै काम गर्नका लागि पार्टीले पुनर्गठनको कार्ययोजना तयार गर्नुपर्ने उनले बताए।
‘पुनर्गठनको कार्ययोजनाका माध्यमबाटै यी तीनवटा उद्देश्यहरू हासिल हुन सक्दछन्। त्यो पुनर्गठनको कार्ययोजना तयार गर्नका लागि पार्टीले एउटा कार्यदल बनाएको छ र त्यो कार्यदलले काम थालिराखेको छ। त्यस अर्थमा अहिले पार्टीभित्र कुनै प्रकारको मत, मतामत, सहमति, असहमति आदि इत्यादि भन्ने खालका कुरा भ्रमपूर्ण कुरा हो। किनकि अहिले पार्टी जुन पाटोमा छ त्यो पार्टीको औपचारिक संस्थागत निर्णय हो। र, कार्यदल अहिले छलफलको प्रक्रियामा छ कुनै निष्कर्षमा पुगेको छैन। जब छलफलको प्रक्रियामा छ, निष्कर्षमा पुगेको छैन भने अहिले पार्टीमा चाहिँ भीषण समस्या, बहस, छलफल जस्ता कुराहरुको चर्चा गरेर पार्टी पंक्तिलाई उद्धेलित गर्ने खालको जे कोसिस भएको छ, त्यो चाहिँ उचित होइन भन्ने मलाई लाग्छ,’ उनले भने।