नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले विश्वकप फुटबल नेपाल टेलभिजनमार्फत् नि:शुल्क प्रशारण गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा सांसद हमालले विश्वकप फुटबल देखाउन 'मोनोपोली' भएको बताए।
'विश्वकप सबैको चासो विषय छ, युवाको झनै ठूलो चासो छ तर ९ सय ९९ रुपैयाँ तिर्नुपर्छ', हमालले भने, 'मोनोपोली छ, कयौँ मानिस व्यग्र हुँदा पनि आफ्नो पहुँच पुर्याउन सकेका छैनन्।'
उनले निजी सेवा प्रदायकले पनि उठाउने आम्दानी गरिसकेको हुन सक्ने भन्दै अब नि:शुल्क गर्न आग्रह गरेका छन्।
'सभामुखमार्फत् नेपाल सरकारलाई आफ्नो टेलिभिजन मार्फत् नि:शुल्क उपलब्ध गराउन तथा सेवा प्रदायकहरुलाई पनि सुनिदिन आग्रह गर्दछु', हमालले भने, 'अब नि:शुल्क दिन आग्रह गर्दछु।'
विश्वकप फुटलब नेपालमा हिमालय स्पोर्टस् एचडी च्यालनमा प्रशारण हुँदै आएको छ।
नेपालका लागि एसप्रो मिडियाले विश्वकप भित्र्याएको हो।
सांसद हमालले ९ सय ९९ भने पनि मोबालमा मात्र हेर्न चाहानेले ५ सय ४९ रुपैयाँमा विश्वकप हेर्न सक्छन्। मोबाइलमा डिएसहोम गो एपबाट विश्वकप प्रत्यक्ष प्रसारण भइरहेको छ।
नेपालमा विश्वकप फुटबल प्रसारण शुल्क सन् २०२२ को तुलनामा दोब्बरले महंगो भएको देखिन्छ। सन् २०२२ मा करसहित ५ सय ६५ रुपैयाँमा विश्वकप प्रसारण भएको थियो।
अघिल्लो पटक मिडिया हब प्रालिले विश्वकप भारतको भायकमसँग किनेको थियो।
यसपटक फिफाबाट सिधै विश्वकपको राइट खरिद गरिएको र डलरको मूल्य बढेका कारण विश्वकपको प्रसारण महँगो भएको एसप्रो मिडियाले बताउने गरेको छ।