राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले मोरङ–३ को जग्गाको समस्या विशेष रहेको भन्दै विशेष समिति बनाएर निरूपण गर्न माग गरेका छन्।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विशेष समिति बन्ने र त्यसैले निरूपण गर्ने भन्दै त्यतिञ्जेल धैर्य गर्न आग्रह गरेका छन्।
‘मोरङ–३ मा एउटा घटना घट्यो। कहीँबाट मानिसहरू जग्गा किन्न भनेर आए। स्थानीयहरूले थाहा पाएन। २०० भन्दा बढीको समूहले उनीहरूलाई घेर्यो। प्रहरी प्रशासन लगाएर छुटाउनुपर्ने अवस्था आयो। अहिले मुद्दा उस्ताउस्तै दुवै पक्षले एकले अर्कोलाई मुद्दा हाल्ने भनेर कुरा भइरहेको छ। यो पहिलो पटक भएको कुरा होइन। यस्तो पटक पटक भएको छ। आफूले वर्षौंदेखि भोगचलन गरेको जमिनमा कोही आउँछ। धनीपुर्जा देखाउँछ। उसँग धनीपुर्जा छ भनेर अर्को मध्यस्थकर्ता आउँछ। हामी यहाँ कुरा गर्छौं। नयाँ पार्टी आउँछ। नयाँ सांसद छानिन्छन्। त्यहाँ सपना देख्न थालिन्छ। अब धनीपुर्जा आउँछ। हाम्रो गेजु परेका जग्गा मिल्छन् भनेर,’ उनले भने।
मोरङ–३ वासीको लालपुर्जाको सपना मुखमा हालेको सानो मिस्रीको टुक्राजस्तै एकैछिनमा बिलाइजाने भएको उनले बताए।
‘मोरङ–३ का लागि मिस्रीको टुक्राजस्तै सपना बिलाइनजाने बन्नका लागि एउटा विशेष समिति आवश्यक। र त्यहाँ अदालतको फरक आदेश आएको छ। समिति बनेको छ। विशेष समिति आवश्यकताअनुसार बन्छ। त्यो बेलासम्म कोही ठगिने, कोही पीडित हुने अवस्था सिर्जना हुने अवस्था हुन नदिने धेर अशान्त नबनी शान्त बन्न आग्रह गर्छु,’ उनले भने।