प्रतिनिधि सभामा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झा र विपक्षी श्रम संस्कृति पार्टीका ध्रुव राईबीच सवाल-जबाफ भएको छ।
प्रतिनिधि सभा नियमावलीबारे उनीहरूबीच सवाल-जबाफ भएको हो।
संसदमा आज मन्त्रालयगत बजेटबारे सांसदहरूले उठाएको प्रश्नमा सम्बन्धित मन्त्रीले जबाफ दिने कार्यसूची थियो।
त्यस क्रममा श्रम संस्कृतिका संसदीय दल नेता हर्क साम्पाङले आफूले सोधेको विषयमा मन्त्रीले जबाफ नदिएको भन्दै विरोध जनाएका थिए।
त्यसपछि रास्वपा सांसद मनिष झाले नियमापत्ति जनाएका थिए।
सभामुखले माइक दिएपछि उनले प्रतिनिधि सभा नियमावली सम्झाउँदै श्रम संस्कृति पार्टीका सांसदहरूलाई 'बालहठ' नगर्न भने।
'५४ र ५५ मा प्रश्नोत्तरसम्बन्धी स्पष्ट व्यवस्था छ। सभामुखको क्षेत्राधिकार पनि उल्लेख छ। पटकपटक वादविवाद गर्ने मेरो प्रश्नको जबाफ आएन भनिएको छ। ५४ मा उत्तर दिन अस्वीकार गर्न सकिने अधिकार पनि उल्लेख गरिएको छ। मन्त्रीज्यूले उत्तर दिइसकेर मेरो उत्तर यही हो भनेर भन्न पाउनु हुन्छ। तसर्थ सम्बन्धित माननीय सांसदलाई यो पटकपटक बालहठ नगर्न सभामुखमार्फत अनुरोध गर्दछु,' उनले भने, 'नियम र कानुनको कुरा गर्दै हुनुहुन्थ्यो। स्पष्टै लेखिएको छ। त्यसैले नियम पढ्नुस्। पेज नम्बर ३२ मा बुँदा नम्बर ५४ र ५५ मा लेखिएको छ।'
त्यसमा श्रम संस्कृतिका राईले नियमावलीमा उल्लिखित विषय अहिलेको अवस्थामा नरहेको बताए।
'नियमावलीमा उत्तर दिन स्वीकार गर्न नसक्ने भन्ने कुरा चाहिँ अहिलेको उठेको विषयमा होइन। राष्ट्रियताको विषयमा त्यस्तो छलफल हुँदा हाम्रो राष्ट्रको हित विपरीत हुन्छ भन्ने विषयवस्तु बुझिन्छ। त्यसकारण नियमावलीको यो विषयमा पनि अध्ययन गर्न सम्बन्धित माननीय ज्यूलाई अनुरोध गर्न चाहन्छु,' उनले भने।
प्रतिनिधि सभामा श्रम संस्कृतिले अवरोध जारी गरेपछि सभामुख डिपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।