संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमलाई माथि उकास्नका लागि उपयुक्त मोडलको खोजी भइरहेको बताएका छन्।
निगम दुर्गतिमा फसेको उल्लेख गर्दै उनले त्यसलाई उकास्नका लागि सरकारले संरचनागत रूपमा नै आमूल सुधार गर्नका लागि राष्ट्रिय बहसमार्फत उपयुक्त मोडलको खोजी गरिरहेको स्पष्ट पारे।
बुधबार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शीर्षकमाथिको सांसदहरूले उठाएका प्रश्नको जबाफ दिने क्रममा मन्त्री पौडेलले निगम पखेँटा घाइते भएका चराजस्तो भएको उल्लेख गर्दै त्यसलाई सुधारको बाटोमा अघि बढाउनका लागि सरकार प्रयासरत रहेको बताए।
उनले भने, ‘नेपाल वायु सेवा निगमको विषममा पनि सुन्दर कुरा उठाइएको छ। त्यहाँको समस्या बजेटले सम्बोधन गर्ने विषय होइन। तर हामीले नियमन र अनुगमन भने गर्दछौँ। हामीले चुनावभन्दा अगाडि पनि र चुनाव भन्दा पछाडि पनि र सरकार गठन भएपछि पनि, सरकारको नीति तथा कार्यक्रममा पनि सम्बोधन गरेको विषय के हो भने नेपाल वायु सेवा निगमको अब सुदृढीकरण गर्नु पर्दछ। त्यसलाई जुनसुकै मोडलमा एउटा राष्ट्रिय ध्वजाबाहकको दुर्गति हुँदै गइरहेको छ। ६५ अर्बभन्दा बढीको ऋण छ। वर्षैपिच्छे २ अर्बभन्दा बढी ऋण थपिएको थपिएकै नै छ। र एकदम दूरावस्थामा गइरहेको छ। जहाँ बेथितिको भंगालो छ। सबैबाट पार पाउनका लागि हामीले एउटा रणनीतिक रूपमा काम गरिरहेका छौँ। र यसलाई कुन मोडलमा लैजान उपयुक्त हुन्छ?’
उनले अगाडि भने, ‘पिपीपी मोडलमा लैजाँदा उपयुक्त हुन्छ कि, अरू कुनै मोडलमा लैजाँदा उपयुक्त हुन्छ कि भनेर हामीले राष्ट्रिय बहसमा लैजाने र उपयुक्त मोडल अपनाएर यसको पुनर्ताजगी गर्ने पुनर्जीवन दिने र त्यसबाटै मात्रै पर्यटनको दीगो विकास सम्भावना हुन सक्छ। पखेँटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौं। त्यसको उन्नतिको लागि, प्रयोगको लागि त्यसको आमूल संरचनागत सुधारको लागि नीतिगत सुधार नै गर्ने र त्यसलाई निजी क्षेत्रको सहभागिता सहित त्यसलाई उकास्ने मोडलमा हामीले जाने प्रयास गरिरहेको निवेदन गर्दछु।’
मन्त्री पौडेलले सरकारले निजी क्षेत्र सहितको सहभागितामा नेपाल वायुसेवा निगमलाई उकास्ने गरी योजना तर्जुमा गर्ने कामलाई अघि बढाएको पनि बताए। –न्युज एजेन्सी नेपाल