प्रतिनिधि सभा बैठक बिहीबार पनि बस्दैछ।
संघीय संसद भवनमा बिहान ११ बजे बैठक बस्ने कार्यसूची छ।
बुधबारदेखि विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जबाफ दिइरहेका छन्।
सो क्रम बिहीबार पनि जारी रहनेछ।
आज शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शिर्षकमाथि सांसदहरूले उठाएको प्रश्नमा सम्बन्धित मन्त्रीले जबाफ दिने कार्यसूची छ।
साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमा उठेका प्रश्नहरूको पनि सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।
सामान्यतया: विधेयकमाथि हुने छलफलमा सम्बन्धित मन्त्रीले जबाफ दिनुपर्ने प्रतिनिधि सभा नियमावलीको व्यवस्था छ।
अर्थात्, प्रधानमन्त्रीले प्रतिनिधि सभा नियमावली अनुसार रक्षा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको छलफलमा उठेको प्रश्नको जवाफ स्वयम् प्रधानमन्त्रीले दिनुपर्नेछ।
प्रतिनिधि सभा नियमावलीको नियम १ सय ४५ को उपनियम ९ ले बजेट माथिको छलफलका क्रममा कुनै शीषकमाथि उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले छलफलको अन्त्यमा दिनुपर्ने व्यवस्था गरेको छ।
यसरी जवाफ दिनेक्रम समाप्त भएपछि अर्थमन्त्रीले बजेट पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
बजेट पारित भएपछि बजेटसँगै सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक लगायतका विधेयक माथि छलफल हुनेछ। त्यसमा सांसदहरूले संशोधन हाल्न ७२ घन्टाको समय पाउनेछन्।
आजै बैठकमा सभामुखले विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूमा २० जना सदस्यहरूले प्रस्तुत गरेका खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।
खर्च कटौतीको प्रस्ताव पेश गर्ने सदस्यहरूमा कृपाराम राना, युवराज दुलाल, पार्वती वि.क., एशुदाकुमारी बराल, जोग कुमार बरबरिया यादव, गुरुप्रसाद बराल, सन्तोष सुब्बा, मोहमद इस्तियाक राई, नीता घतानी, बलावती शर्मा, परशुराम तामाङ, विष्णुमाया वि.क., अर्जुनकुमार कार्की, यज्ञबहादुर बोगटी, नरेन्द्र कुमार केरुङ, ऐनबहादुर महर, रमेशकुमार मल्ल, पुष्पराज कंडेल, साजिदा खातुन सिद्धिकी र पद्माकुमारी अर्याल छन्।
व्यवस्थापन कार्य अन्तर्गत आजै विनियोजन विधेयक, २०८३ का विभिन्न दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । तत्पश्चात अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।