शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकार शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्दै लैजान प्रतिबद्ध रहेको बताएका छन्।
सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्दै लैजाने लक्ष्य लिएको र सोहीअनुसार आगामी आर्थिक वर्षको बजेटमा पनि आवश्यक व्यवस्था मिलाइएको मन्त्री पोखरेलको दाबी थियो।
मन्त्री पोखरेलले बिहीबार प्रतिनिधि सभा बैठकमा आफना मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जबाफ दिँदै विद्यालय शिक्षादेखि नै डिजिटल शिक्षामा लगानी गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरिएको स्पष्ट पारे।
विद्यालय तहदेखि नै स्मार्ट बोर्डको व्यवस्थापन, आधारभूत तहको सिकाइ उपलब्धिमा वृद्धि गर्नका लागि फाउन्डेसन लर्निङसँग सम्बन्धी क्रियाकलाप र शिक्षाको क्षमता विकासका लागि समेत बजेट विनियोजन गरिएको मन्त्री पोखरेलको भनाइ थियो।
उनले भने, ‘वर्तमान सरकारको शिक्षा तथा स्वास्थ्यमा उल्लेख्य लगानी गर्ने प्रतिबद्धता अनुरूप आगामी आर्थिक वर्षमा शिक्षामा लगानी वृद्धि गर्दै लगिनेछ। विद्यालय शिक्षादेखि नै डिजिटल शिक्षामा लगानी गर्नका लागि स्मार्ट बोर्डको व्यवस्थापन, आधारभूत तहको सिकाइ उपलब्धिमा वृद्धि गर्नका लागि फाउन्डेसन लर्निङसँग सम्बन्धी क्रियाकलाप र शिक्षाको क्षमता विकासका लागि समेत बजेट विनियोजन गरिएको छ। आगामी वर्षका लागि विद्यालय पूर्वाधारमा १० अर्ब ४५ करोड २४ लाख ४ हजार विनियोजन गरिएको छ। केही माननीयज्युहरूले पुँजीगततर्फ न्युन बजेट विनियोजन गरिएको कुरा गर्नुभएको छ। यस्ता मन्त्रालयहरूमा पुँजीगत खर्च न्यून नै हुने गर्दछ। शिक्षा क्षेत्रको सुधारका लागि गरिने सबै क्रियाकलापका लागि बजेटको आवश्यक्ता पनि हुँदैन।’
मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा पुँजीगत खर्च कम हुने तथ्यतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराए। –न्युज एजेन्सी नेपाल