गृहमन्त्री सुधन गुरूङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी बैठकमा सहभागीपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले बाढी, पहिरो लगायतका प्राकृतिक विपद्का घटनामा नागरिकको सुरक्षा सुनिश्चित गर्न हेलिकप्टरदेखि सुरक्षा निकायका सबै स्रोत–साधन परिचालन गर्ने जानकारी दिए।
उनले भने, ‘विपद् व्यवस्थापनमा हाम्रो पूर्वतयारी राम्रै छ, त्यही अनुसारमा सुरक्षा निकायहरू पनि खटाइएको छ। त्यही अनुसारमा डिफरेन्ट को–लिड, लिडहरूलाई पनि हामीले निर्देशन दिएका छौं। यसपालि मन्त्रीको निरीक्षणभन्दा पनि जनताको सुरक्षाको लागि हेलिकप्टरदेखि लिएर सबै कुराहरू खटाउने हाम्रो योजनामा राखिराखेका छौं।’
विपद् व्यवस्थापनका लागि सुरक्षा निकायहरू परिचालन गरिसकिएको उनको भनाइ छ।
उनले औपचारिक निरीक्षणभन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धार कार्यलाई केन्द्रमा राखेर काम गर्ने बताए।
उनले सम्भावित संकटको अवस्थामा छिटो काम गर्ने गरी संयन्त्र निर्माण गरिएको पनि जानकारी दिए।
विपद् व्यवस्थापनका लागि अघिल्ला सरकारले गरेका सकारात्मक कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ्ने नीति लिएको उनको भनाइ छ।
मनसुनका बेला पूर्व–पश्चिम राजमार्ग लगायत निर्माणाधीन सडक खण्डहरूमा बाढी र पहिरोका कारण यातायात अवरूद्ध हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरिरहेको उनले जानकारी दिए।
उनकाअनुसार सडक अवरोध हटाउन आवश्यक डोजर तथा उपकरण कहाँ–कहाँ उपलब्ध छन् भन्ने जानकारी दिने विशेष डिजिटल प्रणाली (एप) विकास गरिएको छ।
‘भौतिक पूर्वाधार मन्त्रालयसँग गृह मन्त्रालयले मिलेर कुनै बाढी पहिरो आइहालेको खण्डमा पहिरो हटाउनको लागि हामीले एप निर्माण गरेका छौँ। राइड सेयरिङ एपहरूले लोकेसन हाल्ने बित्तिकै त्यहाँको नजिँकै कहाँ कहाँ राइडरहरू छ भनेर थाहा हुन्छ, त्यहीअनुसारमा पूर्वाधार विकास मन्त्रालयले एउटा एप बनाउनुभएको छ। डोजरहरू कहाँ कहाँ छ भनेर ठ्याक्क थाहा हुन्छ,’ उनले भने, ‘कुनै क्षेत्रमा यदि तत्काल रेस्पोन्ड गर्नुपर्यो भने तुरून्तै हामीले गर्ने, बाटो फुकाउने हिसाबले एप डेभलप गरेका छौं। डिजास्टरको लागि म प्रतिशोध साँधेर आएको छु। पहिला जसरी डिजास्टरले हामीलाई दु:ख दियो, यसपालि त्यहीअनुसारमा प्रतिशोध साँधेर चाहिँ म डिजास्टरलाई रेस्पोन्ड गर्ने मेरो योजनामा आएको छु।’
उक्त प्रणालीमार्फत कुनै स्थानमा पहिरो वा सडक अवरोध भएमा नजिकको उपकरण तत्काल परिचालन गरेर सडक खुलाउने व्यवस्था मिलाएको उनले जानकारी दिए।
यसले विगतमा जस्तो यात्रुहरू लामो समयसम्म सडकमा अलपत्र पर्ने अवस्था नहुने उनको भनाइ छ।
गृहमन्त्री गुरूङले विगतमा प्राकृतिक विपद्ले नागरिकलाई पुर्याएको क्षतिको अनुभवका आधारमा यसपटक अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाए।
गृहमन्त्री गुरूङले प्रहरी तथा अन्य सुरक्षा निकायलाई नागरिकमैत्री सेवा दिन निर्देशन दिएको पनि जानकारी दिए।
अपराध नियन्त्रण, सुशासन प्रववर्द्धन र सेवाको गुणस्तर सुधारमा कुनै सम्झौता नगर्ने उनको भनाइ छ।
सुरक्षा निकायभित्र कार्यसम्पादनका आधारमा मूल्यांकन र पदोन्नति गर्ने नीति अघि बढाइएको उनको भनाइ छ।
राजनीतिक दबाब वा पहुँचका आधारमा पदोन्नति हुने प्रवृत्ति अन्त्य गर्ने उनको दाबी छ।
नागरिकको सुरक्षा, विपद् प्रतिकार्य र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर गृह मन्त्रालय अघि बढ्ने उनले बताए। –न्युज एजेन्सी नेपाल