नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले प्रतिनिधि सभाको बैठकमा मन्त्रीहरूले संसदीय मर्यादा र नियमावलीको उल्लंघन गरेको भन्दै नियमापत्ति जनाएका छन्।
बिहीबारको बैठकमा मन्त्रीहरूले सभाको स्थापित नियम र गरिमाको बेवास्ता गरेको भन्दै उहाँले सभामुखको ध्यानाकर्षण गराएका हुन्।
मुख्य सचेतक महरले प्रतिनिधि सभा नियमावलीको नियम २० को खण्ड ६ मा रहेको व्यवस्था बमोजिम नियमापत्ति गरेका थिए।
उक्त नियममा सभामुखको आसन र बोलिरहेका सदस्यको बीचबाट हिँड्न नहुने स्पष्ट व्यवस्था गरिएको छ।
बैठकमा सांसद रमेश मल्लले आफ्नो धारणा राखिरहेका बेला दुईजना मन्त्रीहरू सभामुख र मल्लको बीचबाट हिँडेपछि महरले समय माग गरी आपत्ति प्रकट गरेका हुन्।
‘सदनको गरिमा र मर्यादा कायम राख्नु सबै सदस्यको जिम्मेवारी हो, त्यसमा पनि सरकारको दायित्व अझ बढी हुन्छ । तर विडम्बना, मन्त्रीज्यूहरूबाटै पटक–पटक नियमको उल्लंघन भइरहेको छ,’ उनले भने।
उनले मन्त्रीहरूले जानाजानी मर्यादा उल्लंघन गरेको भन्दै उक्त कार्यप्रति घोर आपत्ति र निन्दा व्यक्त गरे।
साथै, आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन र संसदीय मर्यादा अक्षुण्ण राख्नका लागि सभामुखबाट स्पष्ट रुलिङ हुनुपर्ने माग समेत गरे। –न्युज एजेन्सी नेपाल