भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले ठूला आयोजनाका लागि पर्याप्त बजेटको व्यवस्था रहेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले राखेका प्रश्नको जबाफ दिँदै उनले राजमार्ग सहितका ठूल्ठूला आयोजनाको लागि आवश्यक बजेटको व्यवस्था गरिएको दाबी गरे।
त्यस अवसरमा उनले बहुवर्षीय आयोजनाहरूका लागि बजेटको अभाव नहुने कुरामा निर्धक्क हुन पनि सांसदहरूलाई आश्वास्त बनाए।
मन्त्री लम्सालले अर्थ मन्त्रालयमा अबण्डामा पनि बजेट रहेकाले आयोजनाहरूको लागि बजेटको अभाव नहुने पनि बताए।
उनले भने, ‘ठूल्ठूला योजनाहरूलाई पनि थोरै थोरै बजेट भन्ने गुनासो छ। राजमार्ग भनेको छ। बजेट एक अर्ब हालेको छ। त्यस्तो होइन। टेण्डर जान्छ। काम मोबिलाइजेसन हुन्छ। काम गर्नु हुन्छ उहाँहरूले। एक अर्ब बजेट छ भन्दैमा एक अर्बको मात्रै टेन्डर खुल्ने होइन। बहुवर्षीय टेण्डर हुन्छ। जति पैसा लाग्छ, त्यो योजनालाई। त्यति पैसाको टेन्डर खुल्ने हो। त्यति पैसा बजेट किताबमा नदेखिएर हजुरहरूले त्यो प्रश्न गर्नु भएको हो। सबै धेरैजसो हाइवेहरू बहुवर्षीय नै हुन्छ। त्यसमा कमै पैसा देखिए पनि त्यो निर्माण सम्पन्न हुनका लगि जति पैसा चाहिने हो, त्यो पैसा छ। त्यसमा निर्धक्क हुनुहोला।’
मन्त्री लम्सालले कुनै जरूरी महत्वको आयोजना भए त्यसलाई अघि बढाउन सरकार तयार रहेको पनि बताए। –न्युज एजेन्सी नेपाल