नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीले नेपाली चिया निर्यातमा देखिएको अवरोधका कारण झापा, इलाम र पाँचथरका चिया उद्योग बन्द हुन थालेको भन्दै समस्या समाधानका लागि सरकारलाई तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेको छ।
प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भारतीय पक्षले नेपाली तयारी चियाको आयातमा अवरोध सिर्जना गरेपछि इलाम, झापा र पाँचथरका उद्योगसमेत गरी दर्जनौं चिया उद्योग पूर्ण रूपमा बन्द भएको र उद्योग बन्द हुँदा करिब ६० हजार मजदुर प्रत्यक्ष रूपमा प्रभावित भएको एमालेको भनाइ छ।
विज्ञप्तिमा नेपालको प्रमुख निर्यातजन्य वस्तुमध्ये एक रहेको चियाको निर्यात प्रभावित हुँदा किसानले उत्पादन गरेको हरियो पत्तीको उचित मूल्य नपाउने, उद्योग सञ्चालनमा कठिनाइ हुने तथा हजारौं श्रमिकको रोजगारी र आयआर्जनमा प्रतिकूल असर पर्ने उल्लेख गरिएको छ।
‘नेपालको करिब ९८ प्रतिशत चिया कोशी प्रदेशमा उत्पादन हुन्छ। प्रदेशको प्रमुख आर्थिक आधारका रूपमा रहेको चिया क्षेत्रमा पटक–पटक देखिने समस्याले प्रदेशको आर्थिक गतिविधि नै धराशायी बन्ने अवस्था सिर्जना भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
एमाले कोशीले चिया निर्यातमा देखिएको अवरोध हटाउन नेपाल सरकारले भारतीय पक्षसँग कूटनीतिक तथा सरकारी तहमा तत्काल संवाद, वार्ता र समन्वय गर्नुपर्ने माग गरेको छ।
एमालेले दुई देशबीचको मित्रवत सम्बन्ध, व्यापारिक सहकार्य र पारस्परिक हितलाई ध्यानमा राखेर समस्याको शीघ्र समाधान खोज्न भारतीय पक्षसमक्ष पनि आग्रह गरेको छ।
प्रदेश कमिटीले चिया किसान, मजदुर तथा उद्योगी–व्यवसायीको पक्षमा रहेको जनाउँदै चिया क्षेत्रमा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक पहलमा निरन्तर सहयोग र समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।