अमेरिका र इरानबीच युद्ध अन्त्यसम्बन्धी समझदारीपत्र (एमओयू) कार्यान्वयनबारे शुक्रबार स्विट्जरल्यान्डमा हुने तय भएको प्रत्यक्ष वार्ता अन्तिम समयमा स्थगित भएको छ।
स्विट्जरल्याण्डको विदेश मन्त्रालयले बिहीबार वक्तव्य जारी गरी स्विट्जरल्यान्डको रिसोर्टमा शुक्रबारका लागि तय गरिएको अमेरिका–इरान वार्ता नहुने जनाएको हो।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी प्रतिनिधिमण्डलसँग भेट गर्न तय भएको स्विट्जरल्यान्ड भ्रमण स्थगित गरेपछि मन्त्रालय वार्ता रोकेको हो।
यसअघि अमेरिका र इरानबीच हालै भएको युद्ध अन्त्यसम्बन्धी समझदारीपत्रलाई कार्यान्वयन गर्ने विषयमा शुक्रबार वा शनिबारबाट प्रत्यक्ष प्राविधिक वार्ता सुरु हुने अपेक्षा गरिएको थियो।
ह्वाइट हाउसले भ्रमण स्थगित हुनुको कारणमा लजिस्टिक व्यवस्थापन भनेको छ।
तर अमेरिकी र क्षेत्रीय कूटनीतिक स्रोतहरूले यसको पृष्ठभूमिमा लेबननमा युद्धविरामकै बीच तनाव जारी भएका कारणले रोकिएको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
उपराष्ट्रपति भान्सले बिहीबार पत्रकार सम्मेलनमा वार्ताको अन्तिम तयारी अझै पूरा नभएको बताएका थिए। उनले इरानी अधिकारीहरूलाई यात्रा व्यवस्थापनसम्बन्धी केही प्राविधिक कठिनाइ हुन सक्ने उल्लेख गरेका थिए।
'अमेरिकी प्रतिनिधिमण्डल पहिलो उपलब्ध अवसरमै प्रस्थान गर्न तयार छ। तर यस्ता वार्ताका व्यवस्थापन प्रक्रिया कहिल्यै सरल वा पूर्वानुमानयोग्य हुँदैनन्। अहिलेका लागि उपराष्ट्रपति आज राति प्रस्थान गर्नुहुन्न। हामी सकेसम्म चाँडो प्राविधिक वार्ता सुरु हुने अपेक्षा राख्छौं,' ह्वाइट हाउसले विज्ञप्ती जारी गरेर भनेको छ।
वार्ता स्थगित हुनु केही घण्टाअघि मात्रै इरानका सर्वोच्च नेता मोज्तबा खामेनेई ले अमेरिकी पक्षसँग प्रत्यक्ष वार्ता गर्न इरानी वार्ताकारहरूलाई अनुमति दिएका थिए।
यद्यपि उनले त्यसलाई 'शत्रुको विचार स्वीकार गरिएको' रूपमा नबुझ्न चेतावनी दिएका थिए।
त्यसपछि इरानका मुख्य वार्ताकार तथा संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफ ले खामेनेईलाई धन्यवाद दिँदै वार्तामा इरानका आफ्नो रेखाहरू कायम राखिने बताएका थिए।