श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले श्रमप्रतिको सकारात्मक धारणा नभएका कारण मुलुकले सधैं गरिबी झेल्नुपरेको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै उनले श्रम शक्तिबाट मुलुकको सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्न सकिने भएकाले श्रमलाई अभियानको रूपमा अघि बढाउन आवश्यक रहेको पनि बताए।
अध्यक्ष राईले श्रमलाई माया गरेर अघि बढ्न पनि सबैलाई आह्वान गरे।
श्रमले मात्रै मुलुकमा आयआर्जन बढाउने हुनाले त्यसलाई हेयको दृष्टिले हेर्न नहुने उनको भनाइ थियो।
अध्यक्ष राईले भने, ‘मेरो जहिले पनि एक खालको वैचारिक आन्दोलन विद्रोह भनौं वा असन्तुष्टि के रहन्छ भने हामीले श्रम र श्रमिक, श्रम भन्ने विषयसँग हामी यति टाढा गयौँ कि शिक्षाले नै हामीलाई त्यस्तो बनायो। काम गर्ने मानिस भनेपछि हामी घिनाउँछौँ। पसिना बगाउने भनेपछि हामी अल्छी मान्छौँ। काम र काम गर्ने मान्छेलाई वर्षौंवर्षदेखि विभेद गरेको छ हाम्रो समाजले। काम गर्ने मानिसलाई कामी भनेर घर भित्र हुल्न नदिने समाज अझै चेन्ज भएको छैन। त्यसो भएको हुनाले आज म सम्मानित सदनबाट एउटा सन्देश पनि दिन चाहन्छु–कामलाई माया गरौं। श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ। हामी कसलाई कति ट्याक्स लगाउने, एक रुपैयाँ कहाँबाट उठाउने, २ रुपैयाँ कहाँबाट उठाउने भन्ने रन्कोमा छौँ। तर हामीले हाम्रो सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्नका लागि श्रमको अभियान, श्रम गर्नु पर्दछ भन्ने शिक्षा, श्रमप्रतिको एउटा सकारात्मक धारणा हामीले कहिल्यै पनि धारण गरेनौं। फलत हामी सधैंभरि गरिब छौँ।’
अध्यक्ष राईले आफूले श्रम गर्नेमाथि विभेद गर्नु हुन्न भनेर अभियानलाई संचालन गरेको दाबी पनि गरे। –न्युज एजेन्सी नेपाल