नेपाली कांग्रेसका नेता नैनसिंह महरले वर्तमान सरकार कानुनी राज्यको धज्जी उडाउदै लोकतान्त्रिक र संवैधानिक व्यवस्थाको उपहास गर्न लागेकाले सबै पक्ष सजग रहनुपर्ने बताएका छन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको तेह्रौं साधारण सभामा बोल्दै उनले विदेसमा पसिना बगाइरहेका लाखौं नेपाली श्रमिकको योगदानको चर्चा गर्दै उनीहरूको त्यागले देशको अर्थतन्त्र धानिरहेको तर सरकार भने व्यवसायीहरूको तेजोबध गर्न तर्फ उद्दत रहेको बताए।
‘प्रत्येक रेमिट्यान्सको पछाडि एउटा परिवारको सपना, एउटा आमाको प्रतीक्षा र एउटा बालबालिकाको भविष्य जोडिएको हुन्छ। त्यसैले श्रमिकको सम्मान र उनीहरूको अधिकारको संरक्षण हाम्रो साझा दायित्व हो,' उनले भने।
महरले लोकतान्त्रिक मूल्य, विधिको शासन र संविधानप्रतिको प्रतिबद्धता कमजोर हुन नदिन सबै सचेत रहनुपर्ने धारणा व्यक्त गरे।
जनताले आन्दोलनमार्फत निर्माण गरेका संस्थाहरू माथि प्रहार गरिरहेका सरकारी गतिविधि प्रति चिन्ता व्यक्त गर्दै भने, ‘यदि कुनै पनि शक्ति वा प्रवृत्तिले लोकतान्त्रिक र संवैधानिक संरचनालाई कमजोर बनाउने प्रयास गर्छ भने नागरिक समाज, राजनीतिक दल, निजी क्षेत्र र आम नागरिक सबै सजग हुन आवश्यक छ।’
उनले लोकतन्त्र केवल शासन प्रणाली नभई नागरिकको अधिकार, स्वतन्त्रता र अवसरको आधार भएको उल्लेख गर्दै संविधानको मर्म र लोकतान्त्रिक संस्थाहरूको संरक्षण सबैको साझा जिम्मेवारी भएको बताए।
उनले वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै विदेशबाट प्राप्त पूँजी, सीप र अनुभवलाई राष्ट्रिय समृद्धिसँग जोड्न सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए।