राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा महाधिवेशन नजिकिएसँगै विभिन्न पदमा आकांक्षीहरू बढ्न थालेका छन्।
आइतबारदेखि चितवनको भरतपुरमा सुरू हुने रास्वपा प्रथम महाधिवेशनमा पूर्वविवेकशील समूहका तीन नेताले पदाधिकारीमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।
यो समूहनिकट विभिन्न नेताहरूसँग हामीले कुराकानी गरेका थियौं।
ती नेताका अनुसार समीक्षा बास्कोटा, पुकार बम र रञ्जु दर्शनाले पदाधिकारीमा प्रतिस्पर्धा गर्ने तयारी थालेका हुन्।
विवेकशील साझा पार्टीमा अध्यक्ष रहिसकेकी बास्कोटा उपसभापति लागि आकांक्षी रहेको ती नेताले बताए। उनी प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति छिन्।
ती नेताका अनुसार विवेकशीलकी महामन्त्री रहिसकेकी रञ्जु दर्शना पनि पदाधिकारीमा आकांक्षी छिन्। अहिले उनी केन्द्रीय सदस्य छिन्। रास्वपामा रञ्जुले खासै भूमिका पाएकी छैनन्। त्यसैले उनले यसपटक पदाधिकारी बन्ने आकांक्षा राखेकी छिन्।
निर्वाचनको केही अघि मात्र विवेकशिल साझा पार्टीका सबै नेता राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएको थियो। निर्वाचन अघि उक्त समूहका कसैले पनि रास्वपामा कुनै पदमा दाबी समेत गरेका थिएनन्। तर एकता प्रक्रियाको नेतृत्व गरेकी बाँस्कोटा संसदीय समितिको सभापति भएकी छिन् भने प्रकाशचन्द्र परियारले सचेतकको जिम्मेवारी पाएका छन्।
सांसद पुकार बम पनि महाधिवेशनमा सहमहामन्त्रीमा आकांक्षी छन्। ‘उहाँले सहमहामन्त्रीमा प्रतिस्पर्धा गर्ने तयारी गर्नुभएको छ,’ उनी निकट स्रोतले भन्यो।
पुकार अहिले केन्द्रीय सदस्य छन्। रास्वपाबाट २०७९ मै निर्वाचन लडेका पुकारलाई पार्टीमा कुनै जिम्मेवारी दिनैपर्ने दबाब सभापति रवि लामिछाने माथि छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ।