राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन संघारमै आइपुग्दा पदाधिकारीमा आकांक्षीहरू बढिरहेका छन्।
आइतबारदेखि चितवनमा सुरू हुन लागेको महाधिवेशनमा केन्द्रीय सदस्य प्रतिभा रावलले उपसभापतिको उम्मेदवार बन्ने तयारी गरेकी छन्।
हाल उनी भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन्। पार्टीको सह-प्रवक्ता समेत रहेकी उनले उपसभापति पदमा आकांक्षा देखाएको एक नेताले जानकारी दिए।
त्यसको तयारीका लागि निकटहरूसँग पनि छलफल गरिरहेको ती नेताले बताए।
रावलले पार्टी स्थापना कालदेखि नै सभापति रवि लामिछाने निकट रहेर काम गरेकी छन्।
उनी पूर्वपत्रकार पनि हुन्। रास्वपा गठनअघि उनले साउथ एसिया फ्याक्ट चेक र रिपब्लिकामा पनि काम गरेकी थिइन्।
ग्यालेक्सी फोरके टेलिभिजनमा रहँदा रावल रवि लामिछानेकै कोर टिममा थिइन्। त्यतिबेला रमेश प्रसाईंले चलाउने कार्यक्रम लालमोहरमा उनी प्रोड्युसर थिइन्।
पछि पार्टी गठनपछि रवि लामिछाने गृहमन्त्री हुँदा पनि रावल उनको सचिवालयमा थिइन्। अहिले उनी महिलातर्फ उपसभापतिको उम्मेदवार बन्ने तयारीमा रहेको उनी निकटहरू बताउँछन्।
महाधिवेशनमा पूर्वविवेकशील समूहका तीन नेताले पदाधिकारीमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।
समीक्षा बास्कोटा, पुकार बम र रञ्जु दर्शनाले पदाधिकारीमा प्रतिस्पर्धा गर्ने तयारी थालेका हुन्।
विवेकशील साझा पार्टीमा अध्यक्ष रहिसकेकी बास्कोटा उपसभापति लागि आकांक्षी रहेको ती नेताले बताए। उनी प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति छिन्।
ती नेताका अनुसार विवेकशीलकी महामन्त्री रहिसकेकी रञ्जु दर्शना पनि पदाधिकारीमा आकांक्षी छिन्। अहिले उनी केन्द्रीय सदस्य छिन्। रास्वपामा रञ्जुले खासै भूमिका पाएकी छैनन्। त्यसैले उनले यसपटक सहमहामन्त्री बन्ने आकांक्षा राखेकी छिन्।
निर्वाचनको केही अघि मात्र विवेकशिल साझा पार्टीका सबै नेता राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएको थियो। निर्वाचन अघि उक्त समूहका कसैले पनि रास्वपामा कुनै पदमा दाबी समेत गरेका थिएनन्। तर एकता प्रक्रियाको नेतृत्व गरेकी बाँस्कोटा संसदीय समितिको सभापति भएकी छिन् भने प्रकाशचन्द्र परियारले सचेतकको जिम्मेवारी पाएका छन्।
सांसद पुकार बम पनि महाधिवेशनमा सहमहामन्त्रीमा आकांक्षी छन्। ‘उहाँले सहमहामन्त्रीमा प्रतिस्पर्धा गर्ने तयारी गर्नुभएको छ,’ उनी निकट स्रोतले भन्यो।
पुकार अहिले केन्द्रीय सदस्य छन्। रास्वपाबाट २०७९ मै निर्वाचन लडेका पुकारलाई पार्टीमा कुनै जिम्मेवारी दिनैपर्ने दबाब सभापति रवि लामिछाने माथि छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ।
पार्टी सभापति लामिछाने भने पहिलो महाधिवेशन सहमतिकै आधारमा सम्पन्न गर्नुपर्ने पक्षमा छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित सचिवालय बैठकमा उनले पार्टीमा समायोजन भएर भर्खरै आएकाहरूलाई प्रतिस्पर्धा गरेर आउ भन्नु अन्यायपूर्ण हुने बताएका थिए।
त्यसकारण पदाधिकारीमा सहमति गरेरै महाधिवेशन सम्पन्न गर्ने प्रयास हुने ती नेताले बताए। केन्द्रीय सदस्य पदका लागि भने मतदान हुन सक्नेछ।
रास्वपामा एक सभापति, एक वरिष्ठ नेता, एक महिलासहित ३ उपसभापति, महामन्त्री २, एक महिलासहित ५ सहमहामन्त्री, प्रवक्ता १, एक महिलासहित ३ सहप्रवक्ता, १ कोषाध्यक्ष ,एक महिलासहित २ जना सहकोषाध्यक्ष रहेछन्