राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन आइतबारदेखि सुरू हुँदैछ।
महाधिवेशनको उद्घाटन समारोहका लागि भरतपुरमा तयारी तीव्र भइरहेको छ।
पहिलो महाधिवेशनले १९ पदाधिकारीसहित १५८ केन्द्रीय समिति चयन गर्नेछ।
महाधिवेशन संघारमै आइपुग्दा केही नेताहरूले पदाधिकारीमा आकांक्षा देखाएका छन्।
आकांक्षी धेरै देखिएको अवस्थामा मतदान हुने सम्भावना पनि रहन्छ।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी लोकतान्त्रिक प्रक्रियाबाटै नेतृत्व चयन हुने बताउँछन्।
राष्ट्रिय समाचार समिति (रासस) सँगको अन्तर्वार्तामा महामन्त्री बुर्लाकोटीले संवाद सहमति र निर्वाचन तीनवटै विषय लोकतान्त्रिक प्रक्रियाका अभिन्न अंग भएको र सोही अनुसार हुने बताए।
एकात्मक निर्देशन र हुकुमी शैली रास्वपामा नभएको पनि उनले बतए।
'पार्टी सभापति असाध्यै लोकतान्त्रिक पक्षधर हुनुहुन्छ। संवाद, सहमति र आन्तरिक निर्वाचनबाट वडा, पालिका, जिल्ला र प्रदेश तहका समिति टुङ्ग्याउन सभापतिज्यूले लिखित रूपमै आह्वान गर्नुभएको थियो। पार्टीभत्र संवाद, सहमति र आन्तरिक निर्वाचन हुन्छ,' उनले भने।
उनले निर्वाचनबाट फुट ल्याउन नदिने गरी बलियो सहकार्य पनि हुने बताए।
'संवाद र सहमतिलाई समेटेर पार्टी निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता हो। यो पार्टी कसरी जन्मियो, यहाँसम्म कसरी आइपुग्यो, जम्मा चार वर्ष हुँदैछ, यसबीचमा के–कति उपलब्धि हासिल भए, आमजनताले कत्तिको आशा–भरोसा दिएर पठाउनुभएको छ, यी सबै कुरालाई विश्लेषण गर्दा पार्टी निर्माणको बृहत् चरण अझै बाँकी छ र त्यसका लागि आवश्यक प्रक्रिया लोकतान्त्रिक विधिमार्फत सम्पन्न गर्छौं,' उनले भने।