प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारको ‘सय दिनमा सय काम’ को लक्ष्य प्रभावकारी नभएको टिप्पणी गरेका छन्।
शनिबार सिंहदरबारमा सम्पन्न नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री पौडेलले सरकारले तोकेका कतिपय कामहरूमा छलफलसम्म हुन नसकेको बताएका हुन्।
सरकारको सय दिने कामबारे पत्रकारहरूसँग बोल्दै उनले सय दिनमा सय काम गर्ने घोषणा गरेको भए पनि कतिपय कामबारे छलफलसमेत हुन नसकेको बताए।
'सरकारले सय दिनमा सय काम गर्ने घोषणा गरेको थियो, तर तीमध्ये कतिपय विषयमा त छलफल समेत भएको छैन। काम पूरा हुनु त धेरै टाढाको कुरा हो,' उनले भने।
उनले कांग्रेसले सरकारका गतिविधि नजिकबाट नियालिरहेको पनि बताए। महामन्त्री पौडेलले कांग्रेसभित्र पनि असन्तुष्टिहरू रहेको स्वीकार गरे।
'अहिलेको समस्यालाई व्यवस्थापन गर्न नेतृत्वले संवाद र छलफल भइरहेको छ,' उनले भने,' पार्टीभित्र देखिएका विमतिहरूलाई समझदारीपूर्ण तरिकाले समाधान गर्दै हामी अगाडि बढ्छौँ । आगामी १५औँ महाधिवेशनमा सबै नेता, कार्यकर्ता र अग्रजहरूको सम्मानजनक सहभागिता हुनेछ । महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन हुने वातावरण सुनिश्चित गरिनेछ र कोही पनि अवसरबाट वञ्चित हुने छैनन् ।’
महामन्त्री पौडेलले आगामी महाधिवेशनलाई सबैको अपनत्व महशुस हुने गरी समावेशी र उत्साहजनक रूपमा सम्पन्न गर्न पार्टी पंक्ति क्रियाशील रहेको समेत बताए। –न्युज एजेन्सी नेपाल