राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय महाधिवेशन मिति तोकेको छ।
शुक्रबार र शनिबार बसेको केन्द्रीय समिति बैठकले मंसिर २६, २७ र २८ गते गर्नेगरी महाधिवेशन मिति तोकेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति पनि गठन गरेको छ।
समितिमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरु, पदाधिकारी एवं केन्द्रीय समितिका सदस्यहरु, सल्लाहकार समितिका अध्यक्ष तथा सदस्यहरु, विभिन्न केन्द्रीय विभागका प्रमुखहरु, प्रदेश अध्यक्षहरु, सबै जिल्ला अध्यक्षहरु, प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरु, सबै भातृ संगठनका अध्यक्षहरु सदस्य रहने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
बैठकमा केन्द्रीय निर्वाचन समितिले पेश गरेको सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठानिक तह निर्वाचन सम्बन्धि नियमावली र पार्टीको निर्वाचन निर्देशिका पनि पारित भएको छ।
जसअनुसार भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ। तोकिएको अवधिभित्र अधिवेशन गर्ने जिल्ला मात्रै केन्द्रीय महाधिवेशनमा सहभागी हुन योग्य हुनेछन्।
त्यस्तै असोज १५ देखि २४ गतेसम्म सातवटै प्रदेश अधिवेशन सक्ने कार्यतालिका छ।
राप्रपाले कात्तिक ११ देखि ३० गतेभित्र सबै जिल्लाको सबै प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिहरूलाई पार्टीको विधान बमोजिम सक्रिय सदस्यहरू मध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गरी मंसिर ७ गतेभित्र केन्द्रमा पठाउन भनेको छ।
प्रदेशसभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन गर्दा युवा प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने व्यवस्था गरिएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए।
पार्टीको सक्रिय सदस्यता वितरण कार्यलाई आगामी भाद्र मसान्तसम्म अभियानको रुपमा सन्चालन गर्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको छ।
भदौ मसान्तसम्म सक्रिय सदस्यता प्राप्त गरेकाहरु मात्र महाधिवेशन प्रतिनिधिको मतदाता तथा उमेदवार हुन पाउने व्यवस्था गरिएको छ।