राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी परित्याग गरेका पूर्वमहामन्त्री धवलशमशेर राणालाई पार्टीमा फर्किन आग्रह गरेका छन्।
पार्टीको केन्द्रीय समिति बैठकको निर्णय सुनाउने क्रममा संचारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष लिङ्देनले पार्टी छाडेर गल्ती नगर्न आग्रह गरेका हुन्।
उनले पार्टी छाडेको कुरा जानकारीमा नआएको पनि अध्यक्ष लिङ्देनले बताए। पार्टी छाडेर गल्ती नगर्नेमा आफू विश्वस्त रहेको पनि उनको भनाइ छ।
'उहाँहरुले कथम् यस प्रकारको काम गर्नुभयो भने उहाँहरुको जीवनको यो अन्तिम गल्ती हुनेछ। यस प्रकारको कामहरु पहिले पनि उहाँहरुबाट हुँदै आएको हो तर अहिले मेरो दृढ विश्वास छ, उहाँहरुले यस प्रकारको गलत काम गर्नुहुन्न र गर्नुभयो भने जीवनको अन्तिम गल्ती हुनेछ,' उनले भने।
अध्यक्ष लिङ्देनले अहिले नै नेतृत्वबारे बहस गर्ने बेला नभएको पनि बताए।
'महाधिवेशनको जुन ठ्याक्कै समय आउँछ, त्यसबेला साथीहरुसँग छलफल, परामर्श पछि हामी टुंगोमा पुग्छौँ । तर आउने महाधिवेशनमा नेतृत्वलाई प्रभावकारी र समयसापेक्ष बनाउने कुरामा हामी सबैको ध्यान केन्द्रित हुनेछ,' उनले भने। –न्युज एजेन्सी नेपाल