राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।
आइतबारदेखि चितवनमा सुरू हुने पहिलो महाधिवशेनका लागि पार्टीको निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो।
जस अनुसार ६ गते राति साढे ८ बजे महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन गर्ने भनिएको छ।
प्रतिनिधिहरूमाथि दाबी विरोधका लागि आइतबार राति ८:३० बजेसम्म पार्टी निर्वाचन आयोगको सम्पर्क सचिवालयमा जानकारी गराउनुपर्नेछ।
त्यसमाथि छानबिन गरी ७ गते राति ११ बजेसम्म महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।
असार ८ गते दिउँसो १ बजेदेखि उम्मेदवारी मनोनयनका लागि फारम वितरण सुरू हुनेछ भने सोही दिन २ देखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।
८ गते साँझ ६ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन हुनेछ।
उम्मेदवारविरूद्ध दाबी विरोधका लागि साँझ ६ देखि ७ बजेसम्मको समय तोकिएको छ।
बेलुकी सवा ९ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय तोकिएको छ। सोही रात ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।
पहिलो चरणको मतदान ९ गते बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कार्यतालिका छ। मतदान सम्पन्न भएको दुई घन्टापछि पहिलो चरणको मतपरिणाम घोषणा हुनेछ।
दोस्रो चरणको उम्मेदवारी र अन्य थप निर्वाचन कार्यक्रम भने त्यसपछि प्रकाशन हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिएका छन्।