राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन आजदेखि सुरू हुँदैछ।
पार्टी स्थापनाको ४ वर्षपछि रास्वपाले पहिलो महाधिवेशन गर्न लागेको हो। चितवनको गेस्ट हाउस चउरमा दिउँसो १ बजे महाधिवेशनको उद्घाटन हुनेछ।
महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका पार्टीका वरिष्ठ नेता बालेन शाहले गर्नेछन्।
उद्घाटन समारोहमा रास्वपाले अन्य दललाई पनि आमन्त्रण गरेको छ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दलका प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिनेछन्।
उद्घाटन समारोहपछि बन्द सत्र सुरू हुनेछ। बन्द सत्रका कार्यक्रम चितवन प्रदर्शनी केन्द्रमा हुनेछ।
महाधिवेशनमा ३ हजार ९१८ प्रतिनिधि रहनेछन्। रास्वपाले पार्टी सदस्य पाँच लाख पुर्याएको छ । सचिवालय सदस्य हरि ढकालका अनुसार ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजार ६३ वडामा अधिवेशन गरिएको छ ।
स्थापना भएको रास्वपा चार वर्षभित्रै झन्डै दुई तिहाई मत प्राप्त दल बनेको छ।
ग्यालेक्सी फोरके टेलिभिजन छाडेर रवि लामिछानेले २०७९ असार ७ गते रास्वपा गठन गरेका थिए।
त्यही साल मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनबाट रास्वपाले २० सिट प्राप्त गरी चौथो ठूलो दल बनेको थियो। त्यतिबेला रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका थिए।
तर अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको सर्वोच्च अदालतको ठहरपछि उनी २०७९ माघ १३ मा पदमुक्त भएका थिए । त्यसपछि पुन: चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका उनी एक वर्षपछि दोस्रोपटक गृह मन्त्रालयमा नै फर्किएका थिए।
पछि एमाले र कांग्रेसले बनाएको सरकारमा भने रास्वपा सहभागी भएन। त्यसपछि रवि सहकारी ठगी मुद्दामा पक्राउ पनि परेका थिए।
त्यही आरोपमा उनी नख्खु कारागारमा हुँदा गत वर्षको भदौमा जेन्जी आन्दोलनताका उनी जेलबाट निस्किएका थिए। त्यसपछि गत पुसमा उच्च अदालत बुटवलबाट उनी धरौटीमा रिहा भएका थिए।
जेनजी विद्रोह र बालेन शाह पनि रास्वपामा जोडिएपछि भएको चुनावमा रास्वपाले असाधारण मत ल्याउन सफल भयो।
यसबिचमा विभिन्न पार्टीहरू पनि रास्वपामा समाहित भएका छन्। विवेकशील साझा, थारूहट आन्दोलन, खगेन्द्र सुनारको हाम्रो नेपाल पार्टी पनि चुनावअघि नै रास्वपामा समाहित भएका थिए।
यसरी विभिन्न उतारचढावपूर्ण यात्रा ब्यहोर्दै रास्वपाले २ वर्ष ढिला गरी महाधिवेशन गर्न लागेको हो।